काठमाडौं—धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ (हर्कराज राई) अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका निलम्बित उपाध्यक्ष डा. मित्र परियारले आफूलाई ‘बालिघर सिउने दमाई’ नसम्झन अध्यक्ष राईलाई चेतावनी दिएका छन् ।
अध्यक्ष राईले आफूलाई पार्टीको उपाध्यक्ष पदबाट निलम्बन गरेपछि आक्रोशित परियारले सामाजिक सञ्जालमा लेख्दै यस्तो चेतावनी दिएका हुन् ।
निलम्बनको पत्र पाएपछि यस विषयमा बुझ्न अध्यक्ष राईलाई फोन गर्दा नउठेको गुनासो गर्दै परियारले सामाजिक सञ्जालमा लेख्न बाध्य भएको बताएका छन्।
‘फेसबुकमा दोहोरी खेल्न मन त थिएन, तर कुरा गर्न हर्क राईको फोनै नउठ्ने रहेछ। निलम्बनको चिठी देखेपछि यति लेख्न बाध्य भएँ’, परियारले लेखेका छन्, ‘लन्डनमा पढाउन छाडेर जातीय मुक्तिका लागि संघर्ष गर्न फर्केको मान्छेलाई धराने मेयरले बालीघर सिउने दमाईं सम्झिनुभएछ ! तपाईंको भाषण डेढ घण्टा सुनिदिनुपर्ने ! मेरो भाषणचैँ दुई मिनेट नसुन्ने ? कसैको रैती बन्न सकिन्छरु’
यद्यपि उनले अध्यक्ष साम्पाङलाई आफ्नो दृष्टिकोण परिवर्तन आग्रह गर्दै फेरि सँगै हुन सकिने आशा पनि व्यक्त गरेका छन्।
परियारले अंग्रेजीमा लेखेका छन्, ‘चेन्ज योर एटिच्युड, सर एन्ड आई मे बि विथ योर अगेन (आफ्नो दृष्टिकोण परिवर्तन गर्नुहोस्, सर र म फेरि सँगै हुन सक्छौँ) ।’
अध्यक्ष राईले सोमबार विज्ञप्ति जारी गरी पार्टीको आचारसंहिता उल्लंघन गरेकाले उपाध्यक्ष परियारलाई निलम्बन गरिएको जानकारी दिएका हुन्।
विज्ञप्तिमा अध्यक्ष राईले लेखेका छन्, ‘२०८२/९/५ गते बुटवलमा आयोजित आमसभामा आयोजकमाथि पार्टीका उपाध्यक्षमा मनोनीत श्री मित्र परियारले पार्टीको आचारसंहिताको बर्खिलाप हुने गरी अभद्र शैलीमा सार्वजनिक अभिव्यक्ति दिनु (कारण १) का साथै जिल्ला सहसंयोजक केशव न्यौपानेलाई आपत्तिजनक र अपमानजनक शब्द प्रयोग गरी गाली गरेको (कारण २) हुनाले कारबाही गरी पदबाट निलम्बन गरिएको जानकारी गराउँदछु ! श्रम संस्कृति पार्टीमा कोही नेता या कोही कार्यकर्ता नहरने, सबै श्रमदाता रहने भएको हुँदा कोही कसैले 'केन्द्र समितिको हुँ' भन्दै आबद्ध सदस्यहरूलाई अपमान गर्ने किसिमको अभिव्यक्ति र व्यवहार गरे यस्तै प्रकारको कारबाही गरिने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछु।’




















