सुर्खेत—नेपाली कांग्रेस कर्णाली प्रदेशका उपसभापति कालीबहादुर सहकारीका छोरा दिनेश बोगटी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिकतर्फको प्रारम्भिक सूचीमा समावेश भएका छन् ।
रास्वपाले हालै आह्वान गरेको समानुपातिकतर्फको खुला मनोनयन दर्ता प्रक्रियामा कर्णालीका २१ जनाले आवेदन दिएका थिए, जसमध्ये दिनेश बोगटी खस आर्य कोटाबाट प्रारम्भिक सूचीमा परेका छन् ।
अझ रोचक पक्ष के छ भने उनका बुबा कालीबहादुर आफैं पनि कांग्रेसबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ सिफारिस भएका छन् । सहकारी लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय नेता हुन् । कुनै समय शेरबहादुर देउवा पक्षधर मानिने उनी हाल शेखर कोइराला समूहमा छन् ।
यति मात्र होइन, दिनेशका काका (बाबुका भाइ) मीनबहादुर बोगटी पनि नेपाली कांग्रेस कालीकोटका उपसभापति छन् । यसरी परिवारका अधिकांश सदस्य कांग्रेसमा सक्रिय रहँदा दिनेशले भने रास्वपाको राजनीतिक धार रोजेका हुन् । विगत १० वर्षदेखि अमेरिकामा बस्दै आएका दिनेश केही दिनअघि मात्र नेपाल फर्किएका थिए ।




















