काठमाडौँ— प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै कांग्रेसका ५७ र अन्य दलका तीन गरी ६० जना निवर्तमान सांसदले सर्वोच्च अदालतमा दायर गरेको पूरक रिट निवेदनमाथिको सुनुवाइ सकिएको छ।

बुधबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा र नहकुल सुवेदी सम्मिलित संवैधानिक इजलासमा उक्त रिटमाथि सुनुवाइ सम्पन्न भएको हो।

यसअघि मंगलबार विघटित प्रतिनिधिसभाका कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहितका नेताहरूले पहिल्यै दायर रिट निवेदनमा पूरक रिट संलग्न गरी मुद्दाको पक्ष कायम गर्न सर्वोच्चमा निवेदन दिएका थिए।

घिमिरे र थिङसहित निवर्तमान आठ सांसदले २०८२ मंसिर २३ गते दायर गरेको रिटमा संवैधानिक इजलासले पुस २ गते प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।

६० निवर्तमान सांसदले रिट निवेदनका विषयवस्तुमा आफ्नो प्रत्यक्ष सरोकार, हक र स्वार्थ रहेको उल्लेख गर्दै मुद्दामा सरिक गराउन माग गरेका छन्।