काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच हालै भएको भेटले नेपाली राजनीतिमा तरङ्ग ल्याएको छ।
भेटपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा विभिन्न अड्कलहरू भइरहँदा पनि रवि र बालेन दुवै पक्षले औपचारिक रूपमा भेटको विषयमा केही बोलेका छैनन्। तर रास्वपाका नेता तथा पूर्व सांसद असीम शाहले भने उक्त भेटमा भएको संवादबारे सार्वजनिक रूपमा खुलासा गरेका छन्।
नेता शाहका अनुसार रवि र बालेनबीच आफू–आफूले कल्पना गरेको देश सञ्चालनको मोडेलबारे छलफल भएको थियो। उनले सो भेटमा रविले बालेनलाई दुईवटा प्रस्ताव गरेको दाबी गरेका छन्।
शाहका अनुसार पहिलो प्रस्ताव रास्वपाको सभापति बन्ने र दोस्रो प्रस्ताव देशको प्रधानमन्त्री बन्ने रहेको थियो। बालेन रास्वपामा आएमा पार्टी सञ्चालनको जिम्मा रविले लिने र सरकार सञ्चालनको नेतृत्व बालेनलाई दिइने विषयमा पनि कुराकानी भएको उनले बताए।
नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शाहले भने,
“हामीले चलाउन खोजेको देश कस्तो हो भन्ने विषयमा छलफल भयो। पार्टी चलाउने र सरकार चलाउने जिम्मेवारी अलग–अलग हुने मोडेलमा पनि कुरा भयो। बालेन शाह प्रधानमन्त्री र पार्टी रवि दाइले चलाउने भन्ने आयाममा समेत संवाद भएको हो।”
रवि–बालेन भेट र त्यससँग जोडिएको यो खुलासाले आगामी निर्वाचन र सम्भावित नयाँ राजनीतिक गठबन्धनबारे बहसलाई थप चर्काएको छ। यद्यपि, यस विषयमा रवि लामिछाने र बालेन शाहबाट आधिकारिक धारणा आउन बाँकी नै छ।




















