काठमाडौं— नेकपा (माओवादी) का महासचिव  नेत्रविक्रम चन्द (बिप्लव)ले आफूहरूलाई सिध्याउने प्रयास भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग सम्झौता गर्नुपरेको बताएका छन्।

सूत्र टिभीको अन्तर्वार्तामा महासचिव बिप्लवले तत्कालीन परिस्थितिमा पूर्वमाओवादी समूहकै नेताहरूले आफूहरूविरुद्ध सरकारलाई उक्साएको दाबी गरे। उनका अनुसार त्यसबेला सरकारभित्रै टास्कफोर्स गठन गरेर कारबाहीको तयारीसमेत गरिएको थियो।

‘भित्र–भित्र के–के तानाबाना थियो, तपाईंलाई पनि थाहा भएकै होला, टास्कफोर्स बनेको थियो,’ बिप्लवले भने, ‘पूर्वमाओवादी साथीहरूले नै सरकारलाई छिटो कदम चाल्नुपर्ने भन्दै भोलि फेरि २०५२ साल दोहोरिन सक्ने चेतावनी दिएका थिए।’

उनले तत्कालीन अवस्थामा आफूहरूलाई तह लगाउने जिम्मा सरकारलाई दिनुपर्ने कुरा समेत उठाइएको दाबी गरे। ‘प्रचण्डलाई त भन्दिनँ, तर अरूहरूले “विप्लवहरूलाई तह लगाउन हामीलाई जिम्मा दिनुस्” भनेको तपाईंले पनि सुन्नुभएको होला,’ बिप्लवले भने।

बिप्लवको यो अभिव्यक्तिले माओवादी आन्दोलनभित्रको आन्तरिक द्वन्द्व र तत्कालीन राजनीतिक समीकरणबारे पुनः बहस सुरु भएको छ।