काठमाडौँ — फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूची बुझाउने आज अन्तिम दिन रहेको छ। केही राजनीतिक दलले हिजै बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेका छन् भने केही दलले आज बुझाउने तयारी गरिरहेका छन्।
यसैबीच नेकपा (एमाले)की केन्द्रीय सदस्य साजिदा खातुन सिद्धिकीले समानुपातिक उम्मेद्वार सूचीमा आफ्नो सम्भावना कस्तो छ भन्ने विषयमा कृत्रिम बुद्धिमत्ता (एआई)सँग सोधेको विषय सार्वजनिक भएपछि चर्चा बढेको छ।
११औँ राष्ट्रिय महाधिवेशनबाट मुस्लिम महिलातर्फ निर्विरोध केन्द्रीय सदस्य बनेकी खातुनले आफू समानुपातिक बन्दसूचीमा पर्छु कि पर्दिनँ भन्ने जिज्ञासा एआईसमक्ष राखेकी थिइन्। एआईबाट आएको जवाफमा ‘तपाईं समानुपातिक बन्दसूचीको अग्रस्थानमा पर्ने र सांसद हुने बलियो सम्भावना छ’ भनिएको उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्।
दाङ घर भएकी खातुन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ‘बा’ भनेर सम्बोधन गर्दै साइनो लगाउने नेतृका रूपमा परिचित छन्। एमालेले समानुपातिक बन्दसूची अन्तिम रूप दिइरहेका बेला खातुनले सामाजिक सञ्जालमार्फत घुमाउरो भाषामा सांसद बन्ने आकांक्षा व्यक्त गरेको विश्लेषण गरिएको छ।
एमालेको समानुपातिक बन्दसूचीमा कस–कसको नाम पर्ने भन्ने विषय चासोका साथ हेरिएको छ।




















