काठमाडौं—नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ।

भदौ २३-२४ को घटनासम्बन्धी जाँचबुझ आयोगले अध्यक्ष ओलीमाथि लगाइएको विदेश भ्रमण रोक र स्थान हद हटाउने निर्णय गरेको हाे।

आयोगको सोमबार बसेको बैठकले अध्यक्ष ओलीको विदेश भ्रमणमा लगाइएको रोक र काठमाडौँ उपत्यका छाड्न नपाउने पूर्ववर्ती निर्णय फुकुवा गरेको हो।

आइतबार जाँचबुझ आयोगले अध्यक्ष ओलीसँग बयान लिएको थियो। त्यससँगै उनको स्थानहद फुकुवा गरिएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए। 

जाँचबुझ आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गरेर स्थानहदको औचित्य सकिएको जनाएको छ। आयोगका प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उनले गरेका कामकारबाही सम्बन्धमा यस आयोगबाट उनिसँग सोधपुछ लगायतका बुझ्ने कार्य सम्पन्न भइसकेकाले उउनको विदेश भ्रमण र उपत्यका छाड्न नपाइने निर्णयको समाप्त भएकाले फुकुवा गरिदिएको छ।’

आयोगले २०८२ असोज १२ मा अनुसन्धानका लागि भनेर पूर्व प्रधानमन्त्री ओलीलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको थियो। त्यस्तै, आयोगको स्वीकृति विना काठमाडौँ उपत्यका छाड्न पनि नपाउने निर्णय गरेको थियो।