काठमाडौं—अमेरिकी सेनाले भेनेजुएलामा गरेको कारबाहीका क्रममा राष्ट्रपति निकोलस मदुरोकी पत्नी सिलिया फ्लोरेस गम्भीर रूपमा घाइते भएको खुलेको छ। अमेरिकी सञ्चारमाध्यम न्युयोर्क पोस्टका अनुसार ६९ वर्षीया फ्लोरेस सोमबार न्युयोर्कस्थित अदालतमा उपस्थित हुँदा उनको अनुहारमा चोटका स्पष्ट चिन्ह देखिएका थिए।

अदालतमा उपस्थित हुँदा फ्लोरेसको आँखामाथि र निधारमा पट्टी बाँधिएको थियो भने दाहिने आँखामा निलो दाग प्रष्ट देखिन्थ्यो। फ्लोरेसका कानुनी सल्लाहकार मार्क डोनेलीले अमेरिकी सेनाले उनलाई पक्राउ गर्ने क्रममा ती चोट लागेको अदालतलाई जानकारी दिएका छन्।

डोनेलीका अनुसार फ्लोरेसको करङसमेत भाँचिएको छ र तत्काल उपचार आवश्यक छ। उनले अदालतसँग फ्लोरेसको पूर्ण एक्स–रे परीक्षण गराउन अनुरोधसमेत गरेका छन्।

मुद्दाको सुनुवाइ गरेका न्यायाधीश एल्भिन हेलरस्टाइनले सरकारी वकिललाई फ्लोरेसका वकिलसँग समन्वय गरी आवश्यक चिकित्सकीय उपचारको व्यवस्था गर्न आदेश दिएका छन्।

उक्त सुनुवाइमा फ्लोरेससँगै उनका पति तथा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो पनि अदालतमा उपस्थित थिए। मदुरोमाथि कोकिन तस्करी, अवैध हतियार कारोबारलगायत गम्भीर अपराधका आरोप लगाइएको छ। तर उनले ती सबै आरोप अस्वीकार गरेका छन्।

अदालतमा मदुरोले भने, “म निर्दोष छु। यहाँ लगाइएका कुनै पनि आरोपमा म दोषी छैन। म एक सभ्य व्यक्ति हुँ।” दोभाषेमार्फत बोलेकी फ्लोरेसले पनि स्पेनी भाषामा आफूहरू निर्दोष रहेको दाबी दोहोर्‍याइन्।

मदुरो दम्पतीविरुद्ध लगाइएका आरोप प्रमाणित भएमा उनीहरूलाई आजीवन कारावास वा मृत्युदण्डसम्मको सजाय हुन सक्ने सम्भावना रहेको बताइएको छ।

गत जनवरी ३ को राति अमेरिकी सेनाले भेनेजुएलामा हवाई हमला गर्दै मदुरो दम्पतीलाई निवासबाटै पक्राउ गरी अमेरिका लगेको थियो।