काठमाडौं—राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ। पार्टीले आफ्नो सम्पूर्ण ध्यान प्रतिनिधिसभा सदस्य निर्वाचनमा केन्द्रित गर्ने भएकाले राष्ट्रियसभा निर्वाचनबाट अलग रहने निर्णय गरिएको हो।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार यस निर्वाचनमा राप्रपाका कुनै पनि उम्मेदवार नरहेकाले राष्ट्रियसभामा समय र शक्ति खर्च नगर्ने निष्कर्षमा पार्टी पुगेको छ। उनले भने, “प्रतिनिधिसभा निर्वाचनमा हाम्रो सम्पूर्ण ध्यान केन्द्रित भएकाले राष्ट्रियसभा निर्वाचनमा नअल्मलिने निर्णय गरेका हौँ।”
राष्ट्रियसभाका मतदाता प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख हुन्छन्। राप्रपाका हाल २८ जना प्रदेशसभा सदस्य रहेका छन् भने केही स्थानीय तहमा प्रमुख तथा उपप्रमुख पनि छन्।



















