धादिङ—धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की तर्फबाट उम्मेदवारी दिएकी आशिका तामाङले उम्मेदवारी फिर्ता लिने प्रक्रियाका लागि निर्वाचन अधिकृतको कार्यालयसँग सम्पर्क गरेकी छन्।
निर्वाचन अधिकृत एकराज अधिकारीका अनुसार तामाङले शुक्रबार फोन र इमेलमार्फत उम्मेदवारी फिर्ता गर्ने निर्णयबारे जानकारी गराएकी हुन्। अधिकारीले भने, “आशिकाजीले फोन र इमेलमार्फत यस्तो आग्रह गर्नुभएको हो। उहाँका कागजातहरू अध्ययन भइरहेको छ, केही बेरमै निर्णय हुनेछ।”
यसैबीच, आशिका तामाङलाई काठमाडौंस्थित जर्मन दूतावासले छलफलका लागि बोलाएको छ। पिआर (स्थायी बसोबास अनुमति) सम्बन्धी विषयमा प्रश्न उठेपछि दूतावासले उनलाई आज छलफलमा बोलाएको बताइएको छ। उनी दिउँसो १२ बजे ज्ञानेश्वरस्थित दूतावास पुगेकी थिइन् तर लन्च ब्रेकका कारण दूतावास बन्द रहेकाले छलफल हुन नसकी फर्किएको बुझिएको छ।
पिआरसम्बन्धी विवादका कारण तामाङले उम्मेदवारी फिर्ता लिने तयारी गरेकी हुन्। उनले भनिन्, “आज म उम्मेदवारी फिर्ता लिँदैछु।”



















