काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता महेन्द्र पाण्डेले पार्टी परित्यागको घोषणा गर्दै गोरखा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार कबिन्द्र बुर्लाकोटीलाई भोट नदिन र गाउँ–गाउँबाट बहिष्कार गर्न अपील गरेका छन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पाण्डेले रास्वपाले टिकट वितरणलाई ‘कमाउने धन्दा’ बनाएको आरोप लगाए। उनले मोटो रकम दिन सक्ने व्यक्तिलाई मात्रै टिकट दिइएको दाबी गर्दै रास्वपा हुँदा खानेको होइन, हुनेखानेको पार्टी बन्दै गएको बताए।
‘रास्वपामा इमान्दार र निष्ठावान कार्यकर्ताको भविष्य छैन,’ पाण्डेले भने, ‘कबिन्द्र बुर्लाकोटी र शंकर श्रेष्ठजस्ता व्यक्तिले निलो क्रान्तिलाई व्यापार बनाएका छन्।’
उनले बुर्लाकोटीका कारण पूर्वदेखि पश्चिमसम्मका इमान्दार कार्यकर्ताको मन दुखेको दाबी गर्दै भने, ‘यस्ता व्यक्तिलाई गाउँ–गाउँबाट लखेट्नुस् र इमान्दार उम्मेदवारलाई मत दिनुस्।’
पाण्डेले रास्वपामा अब आफूजस्ता निष्ठावान कार्यकर्ताको स्थान नरहेको भन्दै स्वतन्त्र अभियान सञ्चालन गर्ने घोषणा पनि गरे। आगामी केही दिनभित्र भेला गरेर चुनावमा कसलाई सहयोग गर्ने भन्ने निर्णय गरिने उनले बताए।
‘हर्क साम्पाङ, कुलमान घिसिङ वा अन्य परिवर्तनकारी शक्तिलाई सहयोग गर्नेबारे छिट्टै निर्णय हुन्छ,’ उनले भने।
पार्टी सभापति रवि लामिछानेलाई स्वार्थी र गलत नियत भएका व्यक्तिहरुले घेराबन्दी गरेको आरोप लगाउँदै पाण्डेले ती व्यक्तिमाथि कारबाही नभएसम्म रास्वपामा फर्किन नसक्ने स्पष्ट पारे।
हुम्ला स्थायी घर भएका पाण्डे कर्णालीमा रास्वपाको स्थापनाकालदेखि सक्रिय रहँदै आएका नेता हुन्। उनले कर्णाली मात्र नभई देशभरका इमान्दार कार्यकर्ता रास्वपा छोड्ने तयारीमा रहेको दाबी पनि गरे।



















