ताप्लेजुङ— नेकपा एमालेले ताप्लेजुङका दुई नेतामाथि लगाइएको कारवाही फुकुवा गरेको छ। कारवाही फुकुवा हुनेमा एमाले ताप्लेजुङका पूर्वअध्यक्ष तथा कोशी प्रदेश कमिटी सल्लाहकार सदस्य बलबहादुर साम्सोहाङ र कोशी प्रदेश पर्यटन विभाग सचिव मणिशंकर पोमू रहेका छन्। एमाले कोशी प्रदेश कमिटीले पुस ९ गतेदेखि लागू हुने गरी कारवाही फुकुवा गरिएको पत्र पठाएको हो।

प्रदेश कमिटीले कारवाही फुकुवाको जानकारी जिल्ला कमिटी र केन्द्रीय संगठन विभागलाई समेत दिएको छ। यसअघि मंसिर ११ गतेको पत्रमार्फत दुवै नेतालाई १५ दिनको स्पष्टीकरण सोध्दै कारवाही गरिएको थियो।

साम्सोहाङ कोशी प्रदेश सरकारका पूर्वमन्त्री हुन् भने पोमू एमाले ताप्लेजुङका पूर्वउपसचिवसमेत रहिसकेका नेता हुन्। कारवाही फुकुवापछि पोमूले सामाजिक सञ्जालमा पार्टीको नीति र विचारप्रति प्रतिबद्ध रहने उल्लेख गरेका छन्।

यससँगै ताप्लेजुङ एमालेभित्र देखिएको किचलो अन्त्य भई आगामी निर्वाचनमा एकता सुदृढ हुने संकेत देखिएको छ।