गौरादह— फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले झापाको क्षेत्र नम्बर ५ मा निर्वाचन गतिविधि तीव्र बनाएको छ।

सोही क्रममा आज निर्वाचन क्षेत्रअन्तर्गत गौरादह नगरपालिकाका दुई वटा वडामा पार्टीका भेला सम्पन्न भएका छन्। मध्यान्ह गौरादह–३ स्थित वरगाछीमा कल्पना अधिकारीको निवासमा आयोजित भेलाले केन्द्रीय लेखा आयोग सदस्य लिला कट्टेलको संयोजकत्वमा २६९ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। कार्यक्रममा वडा कमिटी अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षता रहेको थियो।
वडा नम्बर ३ की उपाध्यक्ष कल्पना अधिकारीका अनुसार करिब एक सय जनाको सहभागिता रहेको भेलामा विकास–निर्माणलाई मुख्य एजेन्डा बनाएर मतदातासम्म पुग्नुपर्ने सुझाव दिइएको थियो।

त्यस्तै, गौरादह–२ को भेला हाँसपोसा स्थित राजु अधिकारीको निवासमा सम्पन्न भएको छ। भेलाले नारायण काफ्लेको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य दीपक कार्कीको प्रमुख आतिथ्यता रहेको थियो। नगर कमिटी अध्यक्ष गजेन्द्र घिमिरेका अनुसार भेलामा सहभागी अधिकांशले विकास निर्माणलाई निर्वाचनको मुख्य एजेन्डा बनाइनुपर्नेमा जोड दिएका थिए। साथै, अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकारले गरेका कामलाई घरघरमा पु¥याउनुपर्ने सुझाव समेत दिइएको छ।

यसैगरी, दमक–२ मा आज सम्पन्न वडा कमिटीको विस्तारित बैठकले नेत्र दाहालको संयोजकत्वमा २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। समितिको सहसंयोजकमा पुष्पलाल अधिकारी, जयप्रसाद भट्टराई र गणेश तामाङ रहेका छन्।

दमक वडा नम्बर ७ को विस्तारित बैठकले राधाकृष्ण आचार्यको संयोजकत्वमा २०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। त्यस्तै, दमक–३ मा सम्पन्न भेलाले केन्द्रीय सदस्य गीता अधिकारीको संयोजकत्वमा ३०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। समितिले प्रत्येक टोल–टोलमा पुगेर मतदातासँग संवाद गर्ने योजना बनाएको छ भने १० वटा विभिन्न उपसमिति पनि गठन गरिएको छ। उक्त कार्यक्रम वडा कमिटी अध्यक्ष डिकेन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो।