काठमाडौं—देशभर निर्वाचनको माहोल तातिरहेको बेला काठमाडौं क्षेत्र नं. ७ का पुराना कम्युनिष्ट नेता, समाजसेवी तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

कार्यक्रममा बोल्दै श्रेष्ठले समाज रुपान्तरणमा नेकपा एमालेको योगदान अतुलनीय रहेको भन्दै वर्तमान राजनीतिक परिस्थिति, विकास, सुशासन, समृद्ध राष्ट्र र राष्ट्रियताको सवालमा एमाले नै जनताको भरोसायोग्य पार्टी भएको बताए।

श्रेष्ठले विगतमा काठमाडौं क्षेत्र नं. ७ मा विकास, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा उल्लेखनीय काम भएको स्मरण गर्दै ती उपलब्धिहरूको नेतृत्व प्रकाश श्रेष्ठले गरेको बताए।

उनका अनुसार पूर्व प्रदेश सांसद तथा बागमती प्रदेशका पूर्व कृषि मन्त्री प्रकाश श्रेष्ठले किसानमैत्री नीति निर्माण, कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, स्थानीय उत्पादन प्रवर्द्धन र युवाको स्वरोजगारमुखी कार्यक्रममार्फत आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्। साथै सडक, खानेपानी, विद्यालय भवन, स्वास्थ्य चौकी र सहरी पूर्वाधार विकासमा उनको सक्रियताप्रति जनताले प्रत्यक्ष अनुभूति गरेको श्रेष्ठले बताए।

श्रेष्ठले अब देशको विकास, सुशासन र समृद्धिको नेतृत्व एमालेले नै गर्ने दाबी गर्दै काठमाडौं क्षेत्र नं. ७ लगायतका पुराना कम्युनिष्ट तथा आम जनसमुदायलाई नेकपा एमालेका उम्मेदवार प्रकाश श्रेष्ठलाई अत्यधिक मतले विजयी गराउन आह्वान गरे।

आज आयोजित समारोहमा नेकपा एमालेका सचिव महेश बस्नेतले ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवालाई स्वागत गरे। कार्यक्रममा काठमाडौं क्षेत्र नं. ७ का एमाले जनप्रतिनिधि, पार्टी नेता–कार्यकर्ता तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।