काठमाडौं—नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग तुलना गरेका छन्।

राष्ट्रिय युवा सङ्घ नेपालको कार्यक्रममा सम्बोधन गर्दै बस्नेतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई ‘जोकर’ भन्न थालेको उल्लेख गरे। उनले नेपालमा पनि “विदेशी स्वार्थ पूरा गर्न सक्रिय” केही नेताहरू देखा परेको टिप्पणी गरे।

बस्नेतले भने, “आज नेपालमा सिंगापटार गरिरहेका जेलेन्स्कीहरू डबल अवतारमा लम्कीतिर घुमिरहेका छन्। विदेशीको स्वार्थ पूरा भएपछि तिनलाई पनि भन्नेछन्—तिमी नेता होइन, जोकर हौ। राष्ट्र बेच्न तयार जोकरहरूबारे युवा पुस्ताले बुझ्नुपर्छ।”

उनले पश्चिमा मुलुकहरूले नेपाललाई युद्धको मैदान बनाउने र रकेट लञ्च गर्ने भूमिकामा प्रयोग गर्न खोजिरहेको षड्यन्त्र भइरहेको दाबी गरे। साथै, रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता नलिने अदालतको निर्णयपछि अदालतमा भएको आगजनी घटनाबारे टिप्पणी गर्दै “अदालत जले पनि न्याय नजलेको पुष्टि भएको” बताए।