काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला उपसभापति तारा शाही नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। रास्वपाका राजनीतिक गतिविधिप्रति असन्तुष्टि जनाउँदै उनले कांग्रेस रोजेकी हुन्।
कांग्रेसकी केन्द्रीय सदस्य रामुदेवी खड्काले शाहीलाई खादा र अबिर लगाएर पार्टीमा स्वागत गरिन्। यस अवसरमा खड्काले शाहीको प्रवेशले कांग्रेसलाई नयाँ ऊर्जा थपिएको बताइन्।
कांग्रेस जुम्लाका उपसभापति कार्मा बुढाले शाहीले कांग्रेसको निर्वाचन केन्द्रित छलफलमा सहभागी हुँदै रास्वपा परित्याग गरेको जानकारी दिए। उनका अनुसार शाहीले औपचारिक रूपमा रास्वपा छोडेर कांग्रेस प्रवेशको घोषणा गरेकी थिइन्।
शाही चन्दननाथ नगरपालिका–५ की बासिन्दा हुन्। यसअघि उनी नेपाली कांग्रेसबाट रास्वपामा प्रवेश गरी उपसभापति बनेकी थिइन्। कांग्रेस जुम्लाले उनलाई पुनः पार्टीमा फर्काएको जनाएको छ।



















