काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार भेटवार्ता भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर भएको भेटमा सम्भावित चुनावी गठबन्धनका विषयमा गम्भीर छलफल भएको बताइएको छ।

स्रोतका अनुसार भेटमा अध्यक्ष ओलीले झापा, दाङलगायतका केही क्षेत्रमा एमालेका उम्मेदवारलाई सहयोग गर्ने प्रस्ताव राख्दै अन्य स्थानमा सहकार्यको संकेत गरेका थिए। तर संयोजक प्रचण्डले गठबन्धन केही सीमित क्षेत्रमा मात्र सीमित हुनु नहुने धारणा राख्दै आवश्यकता र सम्भावनाका आधारमा देशव्यापी सहकार्यको ढोका खुला राख्नुपर्ने प्रस्ताव गरेका थिए।

प्रचण्डको प्रस्तावपछि अध्यक्ष ओलीले उक्त विकल्पप्रति आफू खुला रहेको प्रतिक्रिया दिएको स्रोतको दाबी छ।

ओली–प्रचण्डबीचको यो भेटलाई २१ फागुन २०८२ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सम्भावित गठबन्धनको ‘वार्मअप’का रूपमा हेरिएको छ। विगतमा एकता, विघटन र तीव्र आरोप–प्रत्यारोपको चरण पार गरिसकेका यी दुई नेताबीच पुनः सहकार्यको सम्भावनाबारे खुलेर छलफल हुनु अर्थपूर्ण रहेको नेकपाका एक नेताले बताए। उनका अनुसार, ‘यो भेट सँगै अघि बढ्ने वा टाढिने निर्णयतर्फको संकेत पनि हुन सक्छ।’