धरान—फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–१ मा नेकपा (एमाले) का सूर्यध्वजावाहक उम्मेदवार टिकाराम लिम्बूलाई विजयी गराउने उद्देश्यले नेकपा (एमाले) ले गोप्य प्रचार रणनीति बनाएको छ। उक्त रणनीतिक योजना भने सार्वजनिक गरिएको छैन।

सोमबार साँझ प्रचार कमिटीको पहिलो बैठकमार्फत कमिटी विस्तार गर्दै निर्वाचन केन्द्रित प्रचार रणनीति तय गरिएको हो। बैठकमा निर्वाचन परिचालन कमिटीका हाइकमाण्ड सदस्य तथा प्रचार तथा प्रकाशन समितिका संयोजक भीमज्वाला राईले फागुन २१ गतेसम्मको कार्यसूची (क्यालेन्डर) तयार पारेर सोहीअनुसार प्रचार अभियानलाई व्यवस्थित रूपमा अघि बढाउने रणनीतिक योजना प्रस्तुत गरेका थिए।

बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रचार संयोजक राईले प्रचार रणनीति तयार भइसकेको जानकारी दिँदै त्यसका विवरणहरू अहिले सार्वजनिक गर्न नमिल्ने बताए। उनले भने, “हामीले बनाएको योजनाले एमालेका उम्मेदवार टिकाराम लिम्बूको विजयलाई कसैले रोक्न सक्दैन। रणनीतिका परिणाम क्रमशः देखिँदै जानेछन्।”

बैठकमा उम्मेदवार टिकाराम लिम्बू स्वयं सहभागी रहेका थिए। साथै नेकपा (एमाले) केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन कमिटीका संयोजक मन्जु भण्डारी, कमिटीका हाइकमाण्ड सदस्य तथा कोशी प्रदेशसभा सदस्यहरू विजयकुमार राई र रमेश बस्नेतलगायतको उपस्थिति रहेको थियो।

प्रचार कमिटीका सदस्यहरू तथा सचिवालयसमेत गोप्य राखिएको प्रचार संयोजक राईले जानकारी दिए।