सिरहा—सिरहा कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि ‘नाइके’ भनिने इन्द्रजित यादवसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ।

जिल्ला सुरक्षा समितिले आज गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र नाइके यादवको साथबाट उक्त हतियार बरामद गरिएको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार नाइके यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट गरी कारागारबाट बाहिर निकालेको थियो।

गोप्य सूचनाका आधारमा आज कारागारभित्र खानतलासी गर्दा हतियार फेला परेपछि घटनामा संलग्न रहेको आरोपमा नाइके यादवसहित १३ जनालाई कारागारबाट झिकेर प्रहरी हिरासतमा राखिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए।

उनले भने, “उनीहरूलाई कारागारबाट झिकेर हिरासतमा राखिएको छ। आवश्यक प्रक्रिया पूरा गरी अन्य कारागारमा पठाउने तयारी भइरहेको छ।”

नाइके यादव पक्राउ परेपछि कारागारभित्र रहेका उनका समर्थकहरूले नाराबाजी गर्दै आगजनी र तोडफोडसमेत गरेका छन्। परिस्थितिलाई नियन्त्रणमा लिन कारागार क्षेत्रमा थप सुरक्षा सतर्कता अपनाइएको प्रशासनले जनाएको छ।

एक सय ५० जनाको क्षमता रहेको सिरहा कारागारमा हाल ४३७ जना कैदीबन्दी रहेका छन्। क्षमताभन्दा बढी कैदीबन्दी राखिएकै कारण यसअघि गत साउनमा पनि कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते भएका थिए।