काठमाडौं—नेपाली कम्युनिस्ट पार्टीले चुनावी घोषणापत्रमार्फत अन्तरजातीय विवाह गर्ने जोडीलाई आत्मनिर्भर बनाउन बिना धितो सहुलियत ब्याजदरमा १५ लाख रुपैयाँसम्मको बैङ्क कर्जा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

आज सार्वजनिक गरिएको चुनावी प्रतिबद्धता पत्रमा संविधानले छुवाछुत तथा जातीय भेदभावलाई अपराध ठहर गरे पनि व्यवहारमा दलित समुदायमाथि विभेद कायम रहेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि विशेष कार्यक्रम अघि सारिएको छ।

घोषणापत्रमा दलित समुदायका लागि आधारभूतदेखि माध्यमिक तहसम्म शिक्षा अनिवार्य र निःशुल्क बनाइने, प्राविधिक तथा व्यावसायिक शिक्षामा छात्रवृत्ति प्रदान गरिने व्यवस्था समावेश गरिएको छ। साथै दलित समुदायको परम्परागत सीप, कला र श्रमको आधुनिकीकरण तथा औद्योगीकरणलाई प्रवर्द्धन गर्न रैथाने सीप र कलासम्बन्धी विश्वविद्यालय स्थापना गर्ने उल्लेख गरिएको छ।

त्यस्तै, दलित समुदायमा रहेको भूमिहीनता र आवासहीनताको अन्त्य गर्ने, समग्र विकासका लागि एकीकृत दलित विकास प्राधिकरण गठन गर्ने लगायतका कार्यक्रमहरू पनि घोषणापत्रमा समेटिएका छन्।