काठमाडौं—नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली नेता तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आगामी २१ फागुनको निर्वाचन आफ्नो पार्टीका लागि समेत परीक्षाको विषय भएको बताएका छन्। उनले उक्त निर्वाचनमा नेकपाले सफलता हासिल गर्ने दाबी गरेका छन्।

पार्टीको आधिकारिक फेसबुक पेजमार्फत धारणा सार्वजनिक गर्दै सापकोटाले कांग्रेस विभाजनको अवस्थामा रहेको र नेकपा कमजोर भएको भन्ने प्रचार निराधार रहेको जिकिर गरे। भदौ २३ गतेको ‘जेनजी आन्दोलन’पछि पार्टी रूपान्तरणको पहल थालिएको उल्लेख गर्दै हालसम्म २५ घटक एकताबद्ध भइसकेको उनले बताए।

“अहिले कम्युनिष्ट पार्टी र वामपन्थीहरूको मूलधार नै नेकपा हो भन्ने स्थापित भएको छ। १६४ वटा क्षेत्रमा उम्मेदवारी दिएका छौं। सबै ठाउँबाट रिपोर्ट सकारात्मक आएको छ,” उनले लेखेका छन्।

सापकोटाले इतिहासमै पहिलोपटक एमालेका कार्यकर्ता रक्षात्मक देखिएको टिप्पणी गर्दै त्यसको कारण एमाले नेतृत्वको ‘गलत आचरण’ भएको आरोप लगाए। कांग्रेस फुटेको र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लोकप्रियता पनि क्रमशः घट्दै गएको उनको विश्लेषण छ। रास्वपाको ‘स्टन्ट’ लामो समय नटिक्ने दाबी गर्दै उनले विचार, सिद्धान्त र स्पष्ट एजेण्डाको अभाव रहेको टिप्पणी गरे।

साथै, नेपाली जनताले ठूलो बलिदानबाट प्राप्त गरेको परिवर्तनको रक्षा गरिनुपर्ने उनले बताए। पुराना दलले जनअपेक्षा पूरा गर्न नसक्दा आक्रोश उत्पन्न भएको स्वीकार गर्दै उनले नेकपाले आत्मालोचना गर्दै जनतासँग पुनः जोडिन खोजेको दाबी गरे।

२१ फागुनको निर्वाचनलाई उनले “उलटफेरको चुनाव” का रूपमा चित्रण गर्दै राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई केन्द्रमा राखेर अघि बढ्ने बताए। राजनीतिक दलहरूले पुनः पहल लिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।