दमक — नेकपा एमाले झापा क्षेत्र नं. ५ का नेताहरूले पछिल्लो समय पार्टीको अवस्थामा उल्लेख्य सुधार आएको बताएका छन्। निर्वाचन परिचालन कमिटीको सचिवालय बैठकमा बोल्ने अधिकांश नेताहरूले टोलटोलमा मतदातासँग प्रत्यक्ष भेटघाट बढेपछि असन्तुष्टिसँगै आशा पनि पलाउन थालेको बताएका हुन्।
गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष केदार ढुंगेलले एक साताअघिको तुलनामा अहिलेको माहोल परिवर्तन भएको उल्लेख गर्दै विपक्षीप्रति मतदाताको धारणा छोटो समयमा नै नकारात्मक बन्दै गएको र एमालेप्रति गुनासोसँगै अपेक्षा पनि देखिएको बताउनुभयो। मतदाताले वडा सदस्यदेखि पालिका र प्रदेश तहसम्मका गुनासा नेतृत्वसमक्ष राखिरहेको उहाँको भनाइ थियो। ती असन्तुष्टि सम्बोधन गर्न सबै तहका नेता–कार्यकर्ता सक्रिय हुनुपर्नेमा उहाँले जोड दिनुभयो।
एमाले नेता मदन अधिकारीले सबै वडामा वर्तमान र निवर्तमान जनप्रतिनिधिलाई व्यापक रूपमा परिचालन गर्न थालिएकाले साना असन्तुष्टि क्रमशः समाधान हुँदै गएको बताउनुभयो।
दमक–५ स्थित वडा नं. ५ को प्रचार कार्यालयमा भएको बैठकमा एमाले झापाका उपाध्यक्ष शिव ढुंगेलले मतदातासँग व्यक्तिगत भेटघाटलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। गाउँपालिकाभित्रका सबै टोलका बैठक सकिएको र धेरै कार्यकर्ताले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष गुनासा तथा समस्या राखिसकेको जानकारी दिँदै अब कार्यकर्ता पुनः अभियानमा केन्द्रित भएको उहाँले बताउनुभयो।
गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीले घरदैलो अभियानलाई परिणाममुखी बनाउन संरचनागत संयन्त्र खडा गरिएको जानकारी दिनुभयो। प्रत्येक १० घरका लागि १० जनाको टोली बनाएर पालैपालो घरघर पुग्ने योजना लागू गरिएको उहाँको भनाइ थियो।
पार्टी केन्द्रीय सदस्य होमबहादुर थापाले झापा–५ भित्र धिमाल समुदायका २३ बस्ती रहेको र ती बस्तीबाट एमालेप्रति सकारात्मक प्रतिबद्धता आएको बताउनुभयो। धिमाल जातीय विकास केन्द्रका अध्यक्ष नम्बरलाल धिमालले पनि समुदायको समर्थन रहेको उल्लेख गर्नुभयो।
अनेम संघ झापाकी अध्यक्ष लिला ढुंगेलले महिलाका लागि छुट्टै संयन्त्र बनाएर परिचालन तीव्र बनाइएको बताउनुभयो। विदेशमा रहेका सन्तानबाट दबाब आउने अवस्थालाई मध्यनजर गर्दै आमा–भेटघाट कार्यक्रम बढाइएको जानकारी दिइयो।
निर्वाचन परिचालन कमिटीका कमाण्डर तथा केन्द्रीय सदस्य देवेन्द्र दाहालले पछिल्लो सातामा पार्टीको स्थितिमा उत्साहजनक सुधार आएको दाबी गर्दै बाँकी दिनहरूमा कार्यकर्ता पूर्ण रूपमा परिचालन हुनुपर्ने बताउनुभयो।


















