पछिल्लो समय वैकल्पिक शक्तिका रूपमा उदाएका नयाँ दलहरूप्रति जनस्तरमा असन्तुष्टि बढ्दै गएको संकेत देखिन थालेको छ। सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोले यस्तो प्रवृत्तिलाई थप उजागर गरेको भन्दै चर्चा भइरहेको छ।
भिडियोमा एक वृद्ध व्यक्तिले असन्तोष व्यक्त गर्दै भनेका छन्, “मेरो परिवारको भोटचाहिँ घण्टीलाई त दिँदै दिन्न, कुरै सकियो। अरु भाइहरू आउँदा त ओके, के भो र हामीलाई पनि सहयोग होस्।” उक्त अभिव्यक्ति ‘घण्टी’ चुनाव चिह्न प्रयोग गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी लक्षित भएको रूपमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले टिप्पणी गरेका छन्।
परम्परागत दलप्रति निराश बनेका मतदाताले वैकल्पिक शक्तिमा आशा राखे पनि अपेक्षाअनुसार परिणाम नदेखिएको भन्दै आलोचना बढ्दै गएको विश्लेषकहरू बताउँछन्। विशेषगरी स्थानीय तहमा विकास, रोजगारी र प्रत्यक्ष सहयोगका विषयमा अपेक्षा पूरा नभएको गुनासो सुनिन थालेको छ।
यद्यपि, भाइरल भिडियोको सत्यता, समय र सन्दर्भबारे औपचारिक पुष्टि भइसकेको छैन। तर यसले नयाँ दलहरूप्रति उठिरहेका प्रश्न र जनअसन्तुष्टिको बहसलाई भने सतहमा ल्याएको देखिन्छ।


















