कोहलपुर — बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सक्रिय १ सयभन्दा बढी जेन्जी युवा नेकपा एमाले मा समाहित भएका छन्।उनीहरूले वर्तमान सरकारलाई “माग सम्बोधन गर्न असफल” भएको आरोप लगाउँदै जेन्जी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक नगरेको गुनासो गरेका छन्।
साथै आन्दोलनलाई चुनावी स्वार्थका लागि प्रयोग गरिएको दाबी गर्दै आफ्ना मुद्दा एमालेले मात्र उठाउने विश्वासका साथ पार्टी प्रवेश गरेको बताएका छन्।
आइतबार कोहलपुर स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला सदस्य उमेशजंग शाहीको पहलमा उनीहरू पार्टीमा प्रवेश गरेका हुन्। नवप्रवेशीहरूलाई केन्द्रीय सदस्य तथा बाँके क्षेत्र नं. १ का उम्मेदवार सूर्य ढकालसहित जिल्ला र नगर तहका नेताहरूले स्वागत गरेका थिए।
पार्टी प्रवेश गर्ने युवाहरूमा मोहित थापा, सौरभ मल्ल, अनुज विष्ट, ईशान्त श्रेष्ठ, सिजन शाही, एलेक्स घले लगायत रहेका छन्। उनीहरूले यसअघि आबद्ध दलहरू एजेण्डाविहीन रहेको र युवालाई प्रयोग मात्र गरेको आरोप लगाउँदै एमाले रोजेको बताएका छन्।
नवप्रवेशीहरूले पार्टीप्रति निष्ठावान भई काम गर्ने प्रतिबद्धता जनाएका छन्। कार्यक्रमपछि उनीहरूले चुनावी प्रचारमा सक्रिय रूपमा जुट्ने बताएका छन्।



















