नुवाकोट — नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–१ ग्याङफेदीका निर्वाचित वडाध्यक्ष सीताराम तामाङ ले नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।
तामाङले आफू एक्लै नभई ५ सयभन्दा बढी समर्थक तथा कार्यकर्तासहित एमाले प्रवेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले “काम गर्न सक्ने र स्पष्ट भिजन भएका नेता” भन्दै बद्री मैनाली लाई समर्थन गर्न पार्टी परिवर्तन गरेको बताएका छन्।
उनले विगतमा तत्कालीन माओवादी र नेकपाले दुई पटकसम्म चुनाव जित्दा पनि नुवाकोटमा अपेक्षित विकास हुन नसकेको उल्लेख गर्दै आत्मग्लानि व्यक्त गरे। जनताले विश्वास गरेर जिताए पनि परिणाममुखी काम हुन नसकेको भन्दै अब स्पष्ट दृष्टिकोण र विकास योजनासहितको नेतृत्वसँग उभिन आवश्यक ठानेको उनको भनाइ छ।
आगामी निर्वाचनमा नुवाकोट–१ का एमाले उम्मेदवार मैनालीलाई जिताउने प्रतिबद्धतासहित आफू एमाले प्रवेश गरेको तामाङले बताएका छन्। एमाले प्रवेश कार्यक्रममा मैनालीले पार्टीको झण्डा तथा चुनाव चिन्ह हस्तान्तरण गर्दै तामाङलाई स्वागत गरेका थिए। तामाङसँगै दुप्चेश्वरका युवा राजेश तामाङ पनि एमाले प्रवेश गरेका छन्।
कार्यक्रममा मैनालीले नुवाकोटको विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाए। जनताको विश्वास जितेर परिणाममुखी काम गर्ने अठोट उनले दोहोर्याए।
एमाले पक्षका नेताहरूले विभिन्न दलबाट प्रवेश गर्नेहरूको संख्या बढ्दो रहेको दाबी गरेका छन्। यसअघि नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी बाट पनि सयौँ कार्यकर्ता एमाले प्रवेश गरिसकेको उल्लेख गरिएको छ।


















