भैरहवा—रुपन्देही क्षेत्र नं ३ मा जनता समाजवादि पार्टी (जसपा) काे तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उमेदवार श्रीनिवास यादव एमाले प्रवेश गरेका छन् ।
जसपा नेपालका केन्द्रीय सदस्य समेत रहेका यादवले उमेदवारि दर्ता गरि जनतासँग भेटघाट गर्दा रुपन्देही-३ का मतादाताकाे मनाेभावना एमाले भन्दा अरु नदेखिएकाे र रास्ट्रियताकाे विषयमा एमाले महत्त्वपूर्ण शक्ति भएकाे निश्कर्ष निकाल्दै एमाले प्रवेश गरेकाे बताए ।
यादवले जारी गरेकाे प्रेस विज्ञप्तिमा भनिएकाे छ, ‘प्रचलित कानून अनुसार उम्मेदवारी दर्ता गरी आजका मितिसम्म म श्रीनिवास यादव रुपन्देही क्षेत्र नम्बर-३ का मतदाताका अधिकांश घरघरमा पनि पुगेको छु। यो क्रममा मतदाताको मनोभावनालाई समेत मध्यनजर गर्दै र अहिलेको विषम राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दा मुलुकको राजनीतिक स्थायीत्व र निकासका लागि नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत मार्क्सवादी-लेनिनवादी) नै मुलुकको प्रमुख राजनीतिक शक्तिको रुपमा स्थापित हुने देखिएकाे छ । आजका मितिदेखि एमाले पार्टीका सिद्धान्तलाई अनुसरण गर्दै देश, जनता र राष्ट्रप्रति वफादार बन्दै आजका मितिदेखि जनता समाजवादी पार्टी (जसपा), नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै मेरो उम्मेदबारी समेत फिर्ता लिदै नेकपा (एमाले) मा समाहित भएको घोषणा गर्दछु । साथै मलाई माया, स्नेह र विश्वास गर्नुहुने सम्पूर्ण मतदाताहरुलाई नेकपा (एमाले) को चुनाव चिन्ह सूर्यमा मतदान गर्नका आह्वान गर्दछु। नेकपा (एमाले) रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार कमरेड बासुदेव घिमिरेलाई अत्याधिक बहुमतका साथ विजयी बनाउनका लागि समेत हार्दिक अनुरोध गर्दछु ।’


















