झापा–५ मा उम्मेदवारी दर्ता गराएपछि दुई दिन झापामै बसेर ताप्लेजुङबाट चुनावी दौडमा होमिएका बालेनले आफ्नो फेसबुकमा भने त्यसको कुनै छनक दिएका छैनन् । माघ ९ गते ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन गरेको प्रमाणस्वरुप फोटो राख्दै ‘जय पाथीभरा, जय मुक्कुमलुङ’ लेखेका थिए ।

त्यसपछि सुदूरपश्चिमको पहाडी जिल्लाको भ्रमणमा निस्किएका उनले माघ १४ गते हिउँसहितको बाटोको फोटो राखेर ‘सुदुर अब दुर नाई, भिक्कै झिक्कै माया तम्लाई’ लेखेका थिए । त्यसको भोलिपल्ट माघ १५ गते बालेनले बाजुरा जान लागेको भन्दै बडिमालिका माताले सबैलाई आशीर्वाद देऊन् भन्ने आशयसहित लेखेका छन् । त्यस्तै माघ १६ गते सहिद दिवसको अवसरमा पटक–पटक व्यवस्था फेरिए पनि सत्ताको चरित्र नफेरिएको भन्दै सदिहका सपना पूरा गर्न आफूहरू आएको सन्देश जानेगरी स्टाटस लेखेका छन् ।

सोही दिन उनले कर्णाली पुगेको फोटो राखेका छन् । माघ १८ गते आफ्नो चुनावी अभियानमा खटिरहेका दिनेश सिटौलाको निधनको विषयलाई लिएर दिनेशको फोटोसहित श्रद्धाञ्जलि दिएका बालेनले चुनावी अभियानबारे केही बोलेका छैनन् ।

माघ २१ गते सप्तकोशी पुगेका उनले खुवालुङको बयान गर्दै बोटिङ गर्दै गरेको फोटो राखेका छन् । त्यस भ्रमणका क्रममा उनले उदयपुरको उदयपुर सिमेन्ट उद्योग क्षेत्रमा पुगेर फोटो हालेका छन् । माघ २२ गते भने उनले आफ्ना समर्थकलाई सम्बोधन गर्दै दुई लाइन स्टाटस लेखेका छन्, ‘माया मात्रै रैछ देशभरि, यसरी नै देशलाई माया गर्नु, देश बन्छ ।’

बालेनले माघ २४ गते झापा गोल्डकपमा देखिएको दर्शकको क्रेजको फोटो राख्दै स्टाटस लेखेका छन् भने माघ २५ गते नेपाली टोलीले विश्वकप क्रिकेट खेल्न लागेकोमा शुभकामना दिँदै सन् २०१४ को विश्वकप क्रिकेट प्रतियिोगितामा नेपालले अफगानिस्तान र हङकङलाई हराएको भन्दै त्यसबेलाका क्रिकेटर ज्ञानेन्द्र मल्लको उत्कृष्ट प्रदर्शनको प्रशंसा गरे । त्यति मात्रै होइन, उनले ज्ञानेन्द्र मल्ल समानुपातिक उम्मेदवार रहेको भन्दै ‘क्रिकेटदेखि सदनसम्म’ भन्ने शीर्षक नै दिएका छन् ।

फागुन १ गते उनले गोरखाको गोरखा दरबारसहित आफ्नो फोटो पोस्ट गर्दै ‘एउटा देश, एउटा नेपाल, आज गोर्खा दरबार’ लेखेका छन् । फागुन ३ गते शिवरात्रिको अवसरमा पशुपति नाथ मन्दिरको फोटो राख्दै बालेननले, ‘हरहर महादेव, धर्मो रक्षति रक्षितः’ भन्ने स्टाटस लेखेका छन् । रातोपाटी