इटहरी— सुनसरीको इटहरीमा आयोजित उम्मेदवार ककस कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अशोक चौधरीको भनाइलाई लिएर तनाव सिर्जना भएको छ।
इटहरी जेसीजको आयोजनामा सुनसरी क्षेत्र नम्बर २ र ३ का प्रतिनिधिसभा उम्मेदवारबीच भएको कार्यक्रममा बोल्दै चौधरीले आफ्नो पार्टीले दुईतिहाइ बहुमतको लक्ष्य राखेको र त्यो नचाहने मतदाताले अस्थिर सरकार रोजेको ठहरिने बताएका थिए। उनले दिएको “देशविरोधी” सम्बन्धी टिप्पणीपछि कार्यक्रममा सहभागीहरू आक्रोशित बनेका थिए।
उनको अभिव्यक्तिको विरोधमा उपस्थित केही व्यक्तिले नाराबाजी गरेका थिए भने ‘घण्टी मुर्दावाद’को नारा समेत लगाइएको थियो। नाराबाजीका कारण कार्यक्रम केही समय अवरुद्ध बनेको आयोजक पक्षले जनाएको छ।
अन्य दलका उम्मेदवारहरूले मतदाताको रोजाइलाई देशविरोधीसँग जोडेर बोल्नु लोकतान्त्रिक मूल्यविपरीत भएको टिप्पणी गरेका छन्। मञ्चमै रहेका केही उम्मेदवार र दलका कार्यकर्ताले पनि उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।
ककस कार्यक्रम उम्मेदवारलाई जनउत्तरदायी बनाउने र मतदातासँग प्रत्यक्ष संवाद गराउने उद्देश्यले आयोजना गरिएको भए पनि अन्त्यतिरको विवादका कारण कार्यक्रम तनावपूर्ण वातावरणमा टुंगिएको थियो।कार्यक्रममा नेपाली कांग्रेसका सुनसरी–२ का उम्मेदवार राजीव कोइराला, नेकपा (एमाले)का सुजन लामा, नेकपा (माओवादी केन्द्र)की सुनसरी–२ की उम्मेदवार रामकुमारी चौधरी, उज्यालो नेपालका गोपाल तामाङ लगायत विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारहरू सहभागी थिए।


















