नवलपरासी—रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नेता–कार्यकर्ताको पार्टी परित्याग क्रम जारी रहँदा एक वडा सभापतिले पनि राजीनामा दिएका छन्।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१३ का वडा सभापति जितबहादुर हरिजनले पदबाट राजीनामा दिएका हुन्। उनले जिल्ला सभापतिलाई राजीनामा पत्र बुझाउँदै विशेष कारणवश जिम्मेवारी छोड्नुपरेको उल्लेख गरेका छन्।

राजीनामा पत्रमा उनले विभिन्न कारणले वडा सभापतिको पद त्याग गरेको जानकारी गराएका छन्। हरिजन रास्वपाको प्रथम वडा अधिवेशनबाट वडा नम्बर १३ को सभापतिमा निर्वाचित भएका थिए।

यसअघि रास्वपाका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पनि साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका थिए। पछिल्लो समय पार्टीभित्र राजीनामा दिने क्रम बढ्दै गएको देखिएको छ।