काठमाडौं—नेकपा (एमाले) का उम्मेदवार एवं निवर्तमान सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध घृणा फैलाउने काम गरेको भन्दै कडा आपत्ति जनाएका छन्।
झापा निर्वाचन क्षेत्र नं. २ मा चुनावी प्रचारका क्रममा रहेका लामिछानेले घिमिरेलाई लक्षित गर्दै, "जनताको आवाज उठाउँदा संसदमा माइक काट्नेले कुन मुखले भोट माग्दै हुनुहुन्छ?" भनी टिप्पणी गरेपछि घिमिरेले विज्ञप्ति जारी गर्दै जवाफ फर्काएका हुन्।
घिमिरेले संसदमा माइक काटिने विषय सभामुखको इच्छा नभई संसदीय नियमावली र कार्यविधिअनुसार हुने स्पष्ट पारेका छन्। "संसदीय अभ्यास अनुसार सबै वक्ताहरूलाई समान अवसर दिन र छलफल सम्पन्न गर्न समय निर्धारण गरिन्छ। माइक काट्ने विषय सभामुखको व्यक्तिगत विचारले होइन, संसदमा पूर्वनिर्धारित समय र नियमावली अनुसार हुन्छ," विज्ञप्तिमा भनिएको छ।
उनले लामिछाने आफैँ सांसद भइसकेको व्यक्ति भएर पनि संसदीय पद्धतिको सामान्य जानकारी नभएको जस्तो गरी प्रस्तुत हुनु दुःखद भएको बताएका छन्।
विज्ञप्तिमा घिमिरेले लामिछानेको कानुनी हैसियतमाथि पनि प्रश्न उठाएका छन्। उनले भनेका छन्, "तपाईँलाई जवाफ दिँदै म पनि भन्न सक्छु— आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानुनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ? तर म आक्षेप र आफू बाहेक अरूलाई अपराधी देख्ने प्रवृत्तिको पक्षमा छैन।"
घिमिरेले चुनावी प्रतिस्पर्धामा एजेन्डा र योजनाहरू प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै व्यक्तिगत लाञ्छना र घृणा फैलाउने राजनीति लामो समय नटिक्ने उल्लेख गरे। "रविजीले फैलाएको घृणाप्रति म खेद व्यक्त गर्दछु," उनले थपे, "आफूमाथि प्रतिशोध भएको भन्दै जनतालाई भावनामा बहकाएर अरूविरुद्ध अफवाह नफैलाउन म अपिल गर्दछु।"
झापा-२ मा यसपटक सभामुख, उपसभामुख र प्रतिनिधि सभा सदस्य नै उम्मेदवार रहेकाले चुनावी सरगर्मी निकै बढेको छ।


















