रौतहट—प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा रौतहट जिल्ला क्षेत्र नम्बर–३ मा दल परिवर्तनको क्रम तीव्र बनेको छ। मतदान हुन ९ दिन मात्र बाँकी रहँदा आम जनता पार्टी, नेपाली कांग्रेस र एकीकृत समाजवादी का दर्जनौँ नेता–कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।
देवाही गोनाही नगरपालिका–कर्कच कर्मैयामा आयोजित कार्यक्रममा रौतहट–३ का एमाले उम्मेदवार तथा केन्द्रीय सदस्य कुन्दन कुशवाहा को घरदैलो अभियानकै क्रममा उनीहरू औपचारिक रूपमा एमालेमा समाहित भएका हुन्। एमाले प्रवेश गर्नेमा आम जनता पार्टीकी केन्द्रीय सदस्य सकीना खातुनसहित अफरीदा खातुन, जरीना खातुन, हलीमा खातुन, नसिमा खातुन, सनबून खातुन, सवरा खातुन, खुजन खातुन, सेलुन खातुन, अमीरखा देवी र जालिम खातुन रहेका छन्।
त्यस्तै, धरहरी गाउँका एकीकृत समाजवादीका वडाप्रत्याशी युवा नेता दिपेन्दर यादवसहित दर्जनौँ कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। कटहरिया–३ का नेपाली कांग्रेसका युवा नेता बच्चा लाल यादवसहित अन्य नेता–कार्यकर्ता पनि एमालेमा समाहित भएको जनाइएको छ।
निर्वाचनको अन्तिम चरणमा देखिएको यो राजनीतिक हलचलले रौतहट–३ को प्रतिस्पर्धा थप चर्काएको विश्लेषण गरिएको छ। स्थानीय तहमा प्रभाव राख्ने महिला नेतृत्व र युवाको प्रवेशलाई एमालेले संगठन सुदृढीकरणको रूपमा लिएको छ। साथै, उम्मेदवार कुशवाहाले विकास, सुशासन र स्थिरताको एजेन्डा अघि सार्दै आफ्नो प्रभाव विस्तार गर्ने अभियान तीव्र पारेका छन्।


















