उर्लाबारी—आगामी निर्वाचनको मिति नजिकिँदै जाँदा मोरङ क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।
नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम खतिवडा चोकचोक र बस्तीबस्तीमा पुगेर मतदाता भेटघाटमा व्यस्त छन् ।
घरदैलो तथा भेटघाट अभियानमार्फत खतिवडाले मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् । पछिल्लो समय राजनीतिमा युवा नेतृत्वको बहस चलिरहेका बेला उनले आफू ६३ वर्षको भए पनि युवाकै जोसका साथ चुनावी मैदानमा उत्रिएको बताएका छन् ।
‘म ६३ वर्ष पुगेँ, तर मेरो जोस र जाँगर ३६ वर्षको युवाको जस्तै छ,’ उनले भने, ‘युवा भन्ने कुरा उमेरले मात्र तय हुँदैन, यो भावना र कर्मको विषय हो । म ६३ लाई उल्ट्याएर ३६ को “स्पिरिट”मा काम गरिरहेको छु ।’
भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनका बेला एमाले सत्ता नेतृत्वमा थियो । आन्दोलनकै बलमा उदाएका युवा पुस्ताले एमालेसहित पुराना दलप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
बाहिर असन्तुष्टि देखिए पनि खतिवडाको घरदैलोमा भने त्यस्तो वितृष्णा नदेखिएको उनको दाबी छ । आफूलाई मतदाताले उत्साहजनक रूपमा स्वागत गरिरहेको उनले बताए ।
शालीन, भद्र र नरम स्वभावका खतिवडा एमाले कोशी प्रदेशका अध्यक्षसमेत हुन् । राजनीतिक जीवनमा हालसम्म कुनै कलङ्क नबेहोरेको दाबी गर्दै उनी वैचारिक नेताका रूपमा परिचित छन् । आफ्नो राजनीतिक यात्रामा कुनै दाग नलागेकाले जनतामाझ जान असहज नभएको उनको भनाइ छ ।Untitled design
‘भ्रष्टाचार गर्नेहरू डराउलान्, तर म गाविस अध्यक्ष हुँदादेखि अहिलेसम्म निष्ठाको राजनीति गरिरहेको छु,’ उनले भने, ‘राजनीतिक इमान र आदर्श बोकेर हिँडेकै कारण चोकचोक र बस्तीबस्तीमा फूलमाला र अबिरले स्वागत भइरहेको छ ।’
उनको भनाइअनुसार हालसम्म उनका कार्यक्रम वा चुनावी अभियानमा कुनै अवरोध भएको छैन । जहाँ पुगे पनि मतदाताबाट घेरिने र सम्मान पाइरहेको उनी बताउँछन् । एमालेप्रति गलत प्रचार भइरहेको आरोप लगाउँदै खतिवडा त्यसको खुलेर प्रतिवाद गरिरहेका छन् ।
खतिवडाले आफू सांसद निर्वाचित भए मोरङ–१ का जनताको समस्या र आवश्यकतालाई संसद्को रोस्टममा सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाएका छन् ।२०७४ सालमा निर्वाचित हुँदा सुरु गरेका अधुरा आयोजनालाई पूर्णता दिने उनको योजना छ । पार्टीले आफ्नो कामको मूल्याङ्कन गरेर तेस्रो पटक टिकट दिएको भन्दै उनले कार्यकर्ता र जनताको पूर्ण समर्थन रहेको दाबी गरे ।
मुख्य प्रतिस्पर्धी कांग्रेस
आफ्नो मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस रहेको उल्लेख गर्दै खतिवडाले निर्वाचन स्वस्थ र निष्पक्ष हुनुपर्ने बताएका छन् ।
‘हामी मैत्रीपूर्ण प्रतिस्पर्धा चाहन्छौँ । व्यक्तिगत गालीगलौजमा विश्वास गर्दैनौँ,’ उनले भने, ‘हामी कसैलाई झापड हान्दैनौँ, तर एमालेमाथि जाइलाग्नेलाई चुप लागेर पनि बस्दैनौँ ।’
उनले कुनै पनि दल वा उम्मेदवारको कार्यक्रम र अभियानमा अवरोध गर्न नहुने स्पष्ट सन्देश दिएका छन् । चुनाव प्रचारका क्रममा आफूले अरू उम्मेदवारको व्यक्तिगत आलोचना नगरी आफ्ना एजेन्डा मात्र मतदातामाझ राखिरहेको बताए ।
२०७४ सालमा विजयी भई २०७९ सालमा पराजित भएका खतिवडा यसपटक पुनः अनुमोदित हुनेमा आशावादी छन् । ‘म सांसद हुँदा गरेका विकासका काम र नहुँदा पनि जनताको व्यक्तिगत जीवनमा पुर्याएको सहयोग नै मेरो जितको आधार हो,’ उनले भने ।
उर्लाबारी नगरपालिका–४ का एमाले अध्यक्ष प्रदीप बस्नेतले घरदैलो अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको बताए ।
‘वडा तहको घरदैलो सकेर नगरस्तरीय अभियानमा छौँ,’ उनले भने, ‘एमालेको एजेन्डा र उम्मेदवार बोकेर घरदैलोमा गइरहेका छौँ ।’
एमालेले आगामी निर्वाचनमा मुख्य प्रतिस्पर्धी कांग्रेससँग नै हुने आकलन गरेको छ । मोरङ–१ मा कांग्रेसबाट खड्ग फागो उम्मेदवार छन् ।
उनी उर्लाबारी नगरपालिकाका पूर्वमेयर हुन् र आफू मेयरका रूपमा सफल भएको दाबी गर्दै प्रतिनिधिसभामा पुग्ने तयारीमा छन् ।
यसै क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट कुलप्रसाद साम्बा (कुशल), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट यज्ञमणि न्यौपाने, तथा श्रम संस्कृति पार्टीबाट शान्ति लामा लगायत उम्मेदवार चुनावी मैदानमा छन् ।
मोरङको उर्लाबारी र लेटाङ नगरपालिका तथा मिक्लाजुङ र केराबारी गाउँपालिका समेटिएको क्षेत्र नम्बर १ मा उम्मेदवारहरू आ–आफ्ना एजेन्डासहित मतदातामाझ सक्रिय रूपमा पुगिरहेका छन् ।


















