विराटनगर— नेकपा एमालेका तर्फबाट मोरङ क्षेत्र नम्बर ४ का उम्मेदवार जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रका सबै २३ वटै वडामा पहिलो चरणको घरदैलो अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन् । आज पत्रकार सम्मेलन गरी नेता घिमिरेले फागुन १३ गतेसम्म क्षेत्रका २३ वटै वडामा घरदैलो कार्यक्रम सम्पन्न भएको र अब जनताका आवश्यकता र विकासका योजनाका बारेमा जानकारी लिन टोलटोलमा मतदातामाझ पुग्ने जानकारी दिए।

उम्मेदवार घिमिरेले घरदैलो अभियानका क्रममा करिब २० हजारभन्दा बढी घरधुरीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट, समस्या संकलन तथा सुझाव आदानप्रदान गरिएको बताए । उनले वडास्तरमा आयोजित कोणसभा र घरदैलो कार्यक्रममा उल्लेख्य जनसहभागिता र उत्साह देखिएको उल्लेख गरे । उनि आफूभन्दा आफ्नो काम बोल्ने भन्दै प्रदेशपछि अब संघमा गएर आफ्नो क्षेत्रमा विशेष काम गर्ने लक्ष्यमा रहेको बताउछन् । 

अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन वडास्तरीय परिचालन समिति, क्षेत्रीय समिति, प्रचार–प्रसार, सामाजिक सञ्जाल, युवा, महिला तथा पेशागत क्लस्टरसमेत गठन गरिएको जनाइएको छ। ती समितिमार्फत करिब तीन हजार सक्रिय कार्यकर्तालाई निर्वाचन अभियानमा परिचालन गरिएको नेता घिमिरेले जानकारी दिए । घरदैलो अभियानको पहिलो चरण सम्पन्न भएसँगै अब दोस्रो चरणमा टोलभेला केन्द्रित कार्यक्रम सञ्चालन गरिने भएको छ। प्रत्येक वडाका टोल–टोलमा पुगेर स्थानीय आवश्यकता र विकास योजनाबारे सूक्ष्म छलफल गरिने उम्मेदवार घिमिरेले बताए । साथै, विभिन्न सामुदायिक समूहसँग विकासका एजेन्डामा विशेष अन्तरक्रिया र मतदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन गरिने जनाइएको छ।

एमाले नेता घिमिरेले घरदैलोका क्रममा मतदाताबाट प्राप्त माया, समर्थन र विश्वासले आफूहरूलाई उत्साहित बनाएको उल्लेख गर्दै आगामी निर्वाचनमा उच्च बहुमतसहित विजय हासिल गर्ने दाबी गरे । कोशी प्रदेश सरकारको पूर्व सामाजिक विकास मन्त्री रहेका घिमिरे यस क्षेत्रमै विकासप्रेमी नेताका रुपमा परिचित मानिन्छन ।

आसन्न प्रतिनिधिसभा निर्वाचनमा घिमिरेलाई सबैभन्दा चुनौतीपूर्ण उम्मेदवारका रुपमा हेरिएको छ। एक लाख १९ हजार २५५ मतदाता रहेको मोरङ–४ मा ५५ हजारभन्दा धेरै आदिवासी मत छ। जसमा विराटनगर महानगरपालिकाको सहरी क्षेत्रका मतदाताको संख्या ४९ हजार ६०१ छ । ग्रामथान र कटहरी गाउँपालिकाका सबै वडासहित विराटनगर महानगरका १, २, ३, ८, १० र १९ र बेलबारी नगरपालिकाका ५, ६ र ७ गरी २३ वडा यो क्षेत्रमा पर्छन्। पुरुष ६१ हजार १९२ र महिला मतदाताको संख्या ५८ हजार ६२ छ । निर्वाचन आयोगले मतदानका निम्ति यो क्षेत्रमा ४० मतदानस्थल र १३१ मतदान केन्द्र तोकेको छ ।