दमक—नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा विद्यार्थीसँग छलफल गर्ने भएका छन् ।

आज बिहान ११ बजे दमकस्थित होटल कोरोनेशनमा यस क्षेत्रका विभिन्न कलेज तथा विद्यालयका विद्यार्थीसँग छलफल गर्ने कार्यक्रम तय भएको हो। निर्वाचन लक्षित भेटघाटको क्रममा आज पहिलो कार्यक्रम विद्यार्थीहरुसँग छलफल गर्ने रहेको जनाइएको छ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ नेकपा एमाले निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार विद्यार्थीहरुका अहिलेका समस्या तथा जिज्ञासा सुन्ने छलफलमा उठेका विषयमाथि अध्यक्ष ओलीले अन्तरकृयागर्ने छन् । कार्यक्रममा यस क्षेत्रका लगभग तीन सयभन्दा बढी विद्यार्थी सहभागी रहने अनुमान गरिएको छ।

दमकमा विद्यार्थीहरुसँगको कार्यक्रम सपन्न गरे लगत्तै अध्यक्ष ओली आज दिनभरि नै झापाको गौरादह नगरपालिका अन्तर्गत विभिन्न स्थानमा मतदातासँग भेटघाटमा पुग्ने कार्यक्रम रहेको जनाइएको छ। घोषित कार्यक्रम अनुसार गौरादह नपा ४ को खाङ्टामा पुगेर साढे १ बजे स्थानीयसँग भेटघाटको कार्यक्रम रहेको छ। उक्त कार्यक्रम पछि सोही वडाको मियाँ टोलीमा पुगेर भेटघाट गर्ने छन् । भेटघाटको क्रममा स्थानीयका समस्या सुन्ने र समाधानको विषयमा अध्यक्ष ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।

मियाँटोलीको भेटघाट पछि उनले सोही वडा अन्तर्गतको ३ बजे दुर्गाचौक मजुवा पुगेर मतदातासँग छलफल गर्ने छन्  । यसरी नै साढे ३ बजे फकिरढिपमा भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । समुहगत रुपमा भेटघाट गर्ने कार्यक्रममा स्थानीय बासिन्दाका समस्या, गुनासो सुन्ने समाधानका बिषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आफ्नो निर्वाचन क्षेत्रका टोलटोलमा पुगेर मसिनो गरि जनताका कुरा सुन्ने र आफ्नो धारणा राख्दै आएका छन् ।