काठमाडौँ —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ–५ का संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले सामूहिक राजीनामा दिएका छन्।

राजीनामा दिनेमा संस्थापक क्षेत्रीय संयोजक मधुसुधनध्वज खड्का, बुनपा–३ का नगर प्रतिनिधि राम श्रेष्ठ, बुनपा–३ की जया श्रेष्ठ, बुनपा–४ का सदस्यहरू समिप घले र कवि थापा मगर रहेका छन्।

यस्तै, वडा पदाधिकारीतर्फ बुनपा–७ की प्रतिभा सेढाई, बुनपा–७ का सदस्य किरण थापा, टोखा नगर क्षेत्रका सदस्य चिरञ्जिवी अधिकारी, लेखा सदस्य सुजना बस्नेत र शोभा सुवेदी तथा बुनपा–४ का प्रभात महर्जन, राजेश थापा, माधव थापा मगर र अञ्जना बोगटीले पनि राजीनामा दिएका छन्।

राजीनामा पत्रमा उनीहरूले प्रतिनिधिसभा उम्मेदवार छनोट प्रक्रियाको आवरणमा आर्थिक अनियमितता भएको आरोप नेतृत्वमाथि लगाएका छन्। साथै, लोकतन्त्र र सुशासनको आधारमा देश निर्माण गर्ने उद्देश्यमा पार्टीले आघात पुर्‍याएको दाबी गर्दै स्थानीय तहका गतिविधिबाट निराश भएको उल्लेख गरेका छन्।

उनीहरूले आजैबाट लागू हुने गरी राजीनामा दिएको जनाएका छन्।