वाशिङ्टन— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इजरायलले अब इरानको ग्यास भण्डारमा पुनः आक्रमण नगर्ने बताएका छन्। मध्यपूर्वमा बढ्दो तनाव कम गर्ने उद्देश्यले यस्तो संकेत आएको हो।
इजरायलले बुधबार विश्वकै ठूलो प्राकृतिक ग्यास क्षेत्रमध्ये एक मानिने साउथ पार्स ग्यास क्षेत्र मा आक्रमण गरेपछि क्षेत्रीय तनाव तीव्र बनेको थियो। त्यसको प्रत्युत्तरमा इरानले कतारस्थित प्रमुख ग्यास निर्यात संरचनामा प्रहार गरेको जनाइएको छ।
ऊर्जा पूर्वाधारमा भएका यी आक्रमणले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा तीव्र वृद्धि भएको छ। बढ्दो तनावलाई नियन्त्रणमा राख्न ट्रम्पले इजरायलबाट थप आक्रमण नहुने संकेत दिएका हुन्।
तर उनले चेतावनी दिँदै इरानले पुनः छिमेकी देशका ऊर्जा संरचनामा हमला गरे कडा प्रतिक्रिया दिइने बताएका छन्। आवश्यकता परे इरानका ग्यास भण्डारलाई लक्षित गर्दै कठोर कारबाही हुन सक्ने संकेतसमेत उनले दिएका छन्, जसले क्षेत्रीय अवस्था अझै संवेदनशील रहेको देखाउँछ।



















