खोटाङ— खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ खमारेस्थित श्री देवी आधारभूत विद्यालयमा स्वर्गीय बाबुराम सिग्देलको प्रथम स्मृति दिवसको अवसरमा “स्व. बाबुराम सिग्देल स्मृति अक्षयकोष–२०८२” स्थापना गरिएको छ।

मोरङको विराटनगर–५ निवासी (हाल काठमाडौं बसोबास) समाजसेवी तथा शिक्षासेवी स्व. सिग्देलको सम्झनामा स्थापना गरिएको उक्त अक्षयकोषमार्फत विद्यालयलाई रु. १ लाख ५१ हजार १५१ रकम हस्तान्तरण गरिएको हो।

कोषका संस्थापक नेकपा (एमाले) निकट युवा नेता तथा व्यवसायी शुभाष सिग्देलसहित सन्तोष र सुमन सिग्देलले संयुक्त रूपमा उक्त रकम विद्यालयलाई हस्तान्तरण गरेका हुन्। कोषबाट प्राप्त ब्याज रकम हरेक वर्ष विद्यालयका दुई जना गरिब तथा जेहेन्दार छात्र–छात्रालाई छात्रवृत्तिका रूपमा वितरण गरिने जनाइएको छ।

कार्यक्रममा बोल्दै संस्थापक शुभाष सिग्देलले शिक्षा जीवन परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै सानो प्रयासले पनि विद्यार्थीको भविष्य उज्यालो बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे।

सिग्देल परिवारको उक्त विद्यालयसँग पुरानो सम्बन्ध रहेको जनाइएको छ। विद्यालयको पहिलो व्यवस्थापन समितिका सभापति स्व. नारायण प्रसाद सिग्देल रहेको र परिवारका अन्य सदस्यहरूले पनि सोही विद्यालयबाट अध्ययन प्रारम्भ गरेका थिए।

सोही अवसरमा “स्व. डिल्लीप्रसाद–जोगमाया सिग्देल स्मृति अक्षयकोष” समेत स्थापना गरी रु. १ लाख ५५ रकम हस्तान्तरण गरिएको थियो। कोषका संस्थापक रमेश सिग्देलले विद्यालयको स्तर उन्नति र शैक्षिक गुणस्तर वृद्धिका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

nepalpurba.com (1) 3