काठमाडौं—नेकपा एमाले भित्रैबाट पार्टीको आन्दोलन तयारीबारे असन्तुष्टि र वैकल्पिक रणनीतिक प्रस्ताव सार्वजनिक भएको छ। सुन्दरहरैचा नगरकमिटी अध्यक्ष डिल्लीप्रसाद ढकालले सामाजिक सञ्जालमा लेख्दै केन्द्रीय सचिवालयले तय गरेको आन्दोलन कार्यक्रम ‘झारो टार्ने’ प्रकृतिको भएको टिप्पणी गरेका छन्।
ढकालले पार्टी संरचना र जनप्रतिनिधिको नेटवर्कलाई पूर्ण रूपमा परिचालन गरे आन्दोलनलाई ठूलो जनसहभागितामा रूपान्तरण गर्न सकिने भन्दै विस्तृत गणितसमेत प्रस्तुत गरेका छन्। उनका अनुसार पार्टीको केन्द्रीय कमिटी, विभाग र सल्लाहकार संयन्त्रमा करिब ४०० जना छन् भने सातै प्रदेश र विशेष कमिटीबाट १ हजार जना सहभागी हुन सक्छन्।
त्यसैगरी ७७ जिल्ला कमिटीलाई प्रति १५० जनाको दरले गणना गर्दा ११ हजार ५५० जना, ७५३ पालिका कमिटी अध्यक्ष ७५३ जना, विभिन्न तहका लाभको पद धारण गरेका मुख्यमन्त्री, मन्त्री, संघीय तथा प्रदेश सांसद, मेयर–उपमेयर, वडा अध्यक्षलगायत करिब १ हजार ५०० जना र जनसङ्गठनहरूबाट थप ४ हजार ३०० जना परिचालन गर्न सकिने उनको दाबी छ।
यी सबै जोड्दा प्रारम्भिक रूपमा करिब १९ हजार ५०३ जना मात्र सहजै काठमाडौंमा उतार्न सकिने ढकालको निष्कर्ष छ। तर उनले यही संरचनालाई प्रभावकारी रूपमा परिचालन गरे तीन दिनभित्र एक लाख कार्यकर्ता राजधानीमा पुर्याउन सकिने दाबीसमेत गरेका छन्।
ढकालले पार्टी नेतृत्वलाई लक्षित गर्दै ‘नेता अघि नलागी कार्यकर्ता अघि नबढ्ने’ अवस्था रहेको टिप्पणी गरेका छन्। उनका अनुसार वर्तमान आन्दोलन योजना अपेक्षित रूपमा सशक्त देखिँदैन र यसलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता छ।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा दमन गरी ७६ जनाको ज्यान गएको घटनालाई लिएर वालेन्द्र शाह नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली विरुद्ध चालेको कदमलाई नेकपा एमाले ले ‘राजनीतिक पूर्वाग्रह र प्रतिशोधपूर्ण’ भएको आरोप लगाएको छ।
यस घटनापछि एमालेका नेता–कार्यकर्ताहरूले देशभर विरोध प्रदर्शन जारी राखेका छन्। पार्टीले यसलाई लोकतान्त्रिक प्रक्रियामाथिको हस्तक्षेप भएको दाबी गर्दै आन्दोलनलाई निरन्तरता दिने जनाएको छ।


















