काठमाडौं — नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गर्ने भनिएको जिल्ला सभापतिहरूको भेला स्थगित भएको छ।
धुम्बाराहीमा बसेको संस्थापनइतर समूहका नेताहरूको बैठकले तत्कालका लागि उक्त भेला स्थगित गर्ने निर्णय गरेको हो। विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूको छलफलपछि यस्तो निर्णय लिइएको बताइएको छ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको दुई दिने बैठक बोलाएका थिए। सोही बैठकले जिल्ला सभापतिहरूको भेला हाललाई स्थगित गर्ने निर्णय गरेको नेताहरूले जानकारी दिएका छन्।
यसअघि बिहीबारका लागि जिल्ला सभापतिहरूको भेला बोलाइएको सूचना सार्वजनिक भएको थियो। तर, समूहले आफ्ना गतिविधि फरक ढंगले अघि बढाउने तयारीस्वरूप भेला स्थगित गरेको जनाइएको छ।
एक शीर्ष नेताका अनुसार थप आन्तरिक छलफलपछि मात्र जिल्ला सभापति भेलाबारे नयाँ निर्णय गरिनेछ। त्यस्तै, एक युवा नेताले प्रदेशअनुसार सभापतिहरूलाई बोलाएर छलफल गर्ने तयारीका लागि पूर्वनिर्धारित भेला स्थगित गरिएको बताए।
संस्थापनइतर समूहका अर्का नेताले सर्वोच्च अदालतमा पार्टीको आधिकारिकता सम्बन्धी मुद्दाको २२ चैतमा तोकिएको पेसीलाई ध्यानमा राख्दै भेला स्थगित गरिएको प्रतिक्रिया दिएका छन्।


















