काठमाडौं — नेपाल चलचित्र विकास बोर्डका पूर्वसदस्य तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव युवराज लामाले नेपाली कम्युनिस्ट पार्टी बाट औपचारिक रूपमा राजीनामा दिएका छन्।

१८ वर्षदेखि माओवादी आन्दोलनमा सक्रिय रहेका लामाले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सम्बोधन गर्दै अब कुनै पनि दलमा आबद्ध नरहने र स्वतन्त्र नागरिकको रूपमा रहने घोषणा गरेका हुन्।

राजीनामा पत्रमा उनले पार्टीभित्र लामो समयसम्म भूमिकाविहीन बनाइएको, गुटगत राजनीति हावी भएको र अवसरबाट वञ्चित हुनुपरेको उल्लेख गरेका छन्। आफू कुनै गुटमा नलागेको र नेताहरूको चाकरी नगरेका कारण ओझेलमा परेको उनको ठम्याइ छ।

लामाले प्रचण्ड नेतृत्वमा भएको जनयुद्ध र माओवादी आन्दोलनले उत्पीडित वर्गको अधिकार स्थापना, गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा ऐतिहासिक उपलब्धि हासिल गरेको उल्लेख गर्दै त्यसप्रति सम्मान व्यक्त गरेका छन्। साथै, प्रचण्डलाई गतिशील र खुला हृदयका नेताका रूपमा चित्रण गर्दै विगतमा पाएका जिम्मेवारीका लागि आभार प्रकट गरेका छन्।

तत्कालीन सञ्चारमन्त्री कृष्णबहादुर महरा र खेलकुदमन्त्री हितबहादुर तामाङको कार्यकालमा आफूले पाएका अवसरले राष्ट्रसेवामा योगदान पुर्‍याएको उनले बताएका छन्।

पार्टीभित्र ‘किचन क्याबिनेट’, गुटबन्दी र नेताको घर–घर धाउने प्रवृत्तिले संगठन कमजोर बनेको आरोप लगाउँदै उनले यस्ता प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन्। दुई महाधिवेशनमा कनिष्ठहरूलाई प्राथमिकता दिइएको र बाहिरबाट आएका नेताहरूलाई सिधै उच्च पदमा समेटिएको तर आफूलाई बेवास्ता गरिएको गुनासो पनि उनले गरेका छन्।

पछिल्लो सांगठनिक संरचनामा समेत आफूलाई कुनै स्थान नदिइएको उल्लेख गर्दै लामाले अब स्वतन्त्र मतदाताका रूपमा रहने स्पष्ट पारेका छन्।