काठमाडौं—नेकपा एमालेले सरकारी सञ्चारमाध्यमलाई मात्रै सरकारी विज्ञापन दिने सरकारको निर्णयप्रति कडा आपत्ति जनाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपमहासचिव लेखराज भट्टले सरकारको उक्त कदमप्रति गम्भीर ध्यानाकर्षण भएको बताए।

उनले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै सीमित गर्ने निर्णयले स्वतन्त्र प्रेसको भूमिकालाई कमजोर बनाउने र प्रेस स्वतन्त्रतामाथि असर पर्ने उल्लेख गरे। “सरकारको यो निर्णयले स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने काम गरेको छ,” भट्टले भने।

एमालेले विज्ञप्तिमार्फत उक्त निर्णयको कडा शब्दमा विरोध गर्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। साथै, सबै सञ्चारमाध्यमलाई समान रूपमा व्यवहार गर्नुपर्नेमा जोड दिएको छ।

एमालेले प्रेस स्वतन्त्रता लोकतन्त्रको महत्वपूर्ण आधार भएकाले यसलाई कमजोर पार्ने कुनै पनि निर्णय स्वीकार्य नहुने स्पष्ट पारेको छ।