सुर्खेत — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेश समितिका सहमहामन्त्री हरिप्रसाद अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित मालिका सामुदायिक वन उपभोक्ता समितिको १२ लाखभन्दा बढी रकम हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध विशेष अदालत मा मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार समितिका अध्यक्ष अमरबहादुर दानी, कोषाध्यक्ष सावित्रा अधिकारी, सचिव तेजेन्द्रबहादुर वयक क्षेत्री र सदस्य हरिप्रसाद अधिकारीले मिलेमतोमा आर्थिक अनियमितता गरेका छन्। उनीहरूले आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्म समितिको रकम गैरकानुनी रूपमा दुरुपयोग गरेको आरोप छ।

विज्ञप्तिअनुसार, समितिको निर्णय र बिल भर्पाइबिना रकम खर्च गरिएको, सडक निर्माणमा कार्ययोजना विना तथा नक्कली कागजातका आधारमा भुक्तानी दिइएको, लेखापरीक्षण नगरी शुल्क भुक्तानी गरिएको जस्ता अनियमितता देखिएको छ।

त्यस्तै, काठ बिक्रीबाट प्राप्त रकम खातामा जम्मा नगरी अन्य शीर्षकमा खर्च देखाइएको, नर्सरी व्यवस्थापन, वन मुद्दा, अधिवक्ता शुल्क र साक्षी खर्चका नाममा प्रमाणबिनै ठूलो रकम हिनामिना गरिएको अख्तियारले जनाएको छ।

उपभोक्ता समूहको सार्वजनिक कोषबाट मात्रै मुद्दा तथा साक्षी खर्चका नाममा २ लाख ८५ हजार रुपैयाँ खर्च गरिएको तथा अध्यक्षले निजी प्रयोजनका लागि ४१ हजार १६२ रुपैयाँ लिएको समेत आरोपपत्रमा उल्लेख छ।

अख्तियारले पाँचै जनाको मिलेमतोमा कुल १२ लाख १८ हजार ५१२ रुपैयाँ बराबरको हिनामिना भएको ठहर गर्दै उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।