काठमाडौँ—संयुक्त राज्य अमेरिका ले इरान का बन्दरगाहहरूमा नाकाबन्दी घोषणा गरेको छ। अमेरिकी सैन्य निकाय युनाइटेड स्टेट्स सेन्ट्रल कमाण्ड (सेन्टकम) ले सोमबार बिहानदेखि उक्त नाकाबन्दी लागू गर्ने जनाएको हो।

सेन्टकमका अनुसार इरानी बन्दरगाह तथा तटीय क्षेत्रमा प्रवेश गर्ने वा बाहिरिने सबै देशका जहाजहरूमा यो नाकाबन्दी निष्पक्ष रूपमा लागू गरिनेछ। सामाजिक सञ्जालमार्फत सेन्टकमले राष्ट्रपतिको निर्देशनअनुसार इरानसँग सम्बन्धित समुद्री यातायातमा रोक लगाइने स्पष्ट पारेको हो।

अरबी खाडी र ओमान आसपासका इरानी बन्दरगाह तथा तटरेखा प्रयोग गर्ने जहाजहरू यस निर्णयबाट प्रभावित हुनेछन्। यद्यपि, सेन्टकमले हर्मुज जलडमरूमार्ग हुँदै गैर–इरानी बन्दरगाहतर्फ जाने जहाजहरूको नेभिगेसन स्वतन्त्रतामा अवरोध नपुर्‍याइने जनाएको छ।

यसअघि डोनाल्ड ट्रम्प ले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसल मा हर्मुज जलडमरूमार्ग हुँदै जाने जहाजहरू नियन्त्रण गर्नुपर्ने अभिव्यक्ति दिएका थिए।

यस घटनापछि वासिङ्टनले चीन र इरानप्रति आफ्नो अडान अझ कडा बनाएको संकेत देखिएको छ।