काठमाडौं—डोनाल्ड ट्रम्प प्रशासनसँग सम्बन्धित मध्य तथा दक्षिण एशियाली मामिलाका विशेष दूत तथा भारतका लागि राजदूत सर्जियो गोरले रवि लामिछानेसँग भेटवार्ता गरेका छन्।
स्रोतका अनुसार गोर शुक्रबार बिहान करिब साढे ८ बजे बूढानीलकण्ठ नजिकै रहेको लामिछानेको निवास पुगेका थिए। करिब आधा घण्टा भएको भेटपछि उनी ९ बजे बाहिरिएका थिए। भेटवार्ताको विषयवस्तुबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
यसैबीच, गोरले बिहीबार एभरेष्ट बेस क्याम्प पुगेर ‘अल्ट्रा एक्स जेन २’ नामक अमेरिकी कार्गो ड्रोन उडाएका थिए। उक्त कार्यक्रममा नेपालस्थित कार्यवाहक अमेरिकी राजदूत स्कट चार्ज पनि सहभागी थिए।
तर, उच्च हिमाली क्षेत्रमा ड्रोन उडानसम्बन्धी अनुमति र आधिकारिक जानकारीबारे नेपाल सरकारले कुनै स्पष्ट विवरण सार्वजनिक नगरेकाले यस विषयमा प्रश्न उठ्न थालेको छ।
गोर नयाँ दिल्लीबाट छ सदस्यीय टोलीसहित काठमाडौं आएका हुन्। उनी द्वारिकाज होटलमा बसेका थिए। काठमाडौं बसाइका क्रममा उनले परराष्ट्रमन्त्री र अर्थमन्त्रीसँग पनि भेटवार्ता गरेका थिए भने दरबार स्क्वायर क्षेत्रको अवलोकन गरेका थिए।
उनको टोली आज राति नयाँ दिल्ली फर्कने कार्यक्रम रहेको बताइएको छ।




















