• ✍️ पुरुषोत्त पौडेल 

हामी निम्नमध्यम वर्गका मान्छे पर्यौँ। मिहिनेत साथ काम गर्दा खानसम्म पुग्ने अवस्था हो। हामीलाई वर्षभरि खाईपिई गरेपछि दशैँ मनाउन समस्या परेको अनुभव छ। हाम्रो पैतृक आर्थिक अवस्था भने अलि माथिल्लो वर्गकै हो। म चाहिँ सङ्गत र स्वभावले विद्रोही भएकोले कम्युनिष्ट हुन पुगेँ। गरिब भएको कारणले कम्युनिष्ट भएको चाहिँ होइन, कम्युनिष्ट भएको हुनाले गरिब हुन पुगेको हुँ।

म यदि कम्युनिष्ट हुँदैनथेँ भने अलि लोभी र आरिसे हुन्थेँ होला। त्यसो हुँदा पढाइको हिसाबले डाक्टर हुन सक्थेँ र वर्गको हिसाबले व्यापारी पनि हुन सक्थेँ होला। हाम्रा धेरै दाजुभाइ थिए, उनीहरूसँग खुब लड्थेँ होला, झगडा गर्थेँ होला। हाम्रा बुबा मलाई निकै माया गर्नुहुन्थ्यो। बुबासँग पनि सम्पत्तिका लागि अलि बढी प्रेसर गर्थेँ होला। कम्युनिष्ट भएको हुनाले स्वभावैले मलाई त्यसो गर्न दिएन।

हाम्रो बुबा अलि हुनेखाने र धनीमानी वर्गमै पर्नुहुन्थ्यो। जेठो दाइले चाटाकचुटुक पैतृक सम्पत्ति एकलौटी पारेर खान खोजेछन्। उनले काभ्रे जिल्ला कानपुरमा भएको अब्बल जग्गा जमिन अर्कैलाई खुवाउन पुगेछन्। त्यो थाहा पाएर धेरैले मलाई मुद्दा गर्न पनि सुझाए। मलाई लडाइँ-झगडा र मुद्दा मामिलामा फस्ने जाँगर आएन। तराई (रौतहट) बसेर जे छ, त्यसैमा मिहिनेत गरेँ। मिहिनेतको कमाइ खाएर आजको अवस्थासम्म आइपुगेको छु।

आफ्नो सङ्घर्षपूर्ण जीवन र जागृत चेतको कारण कम्युनिष्ट हुन पुगेँ। मलाई कम्युनिष्ट बनाउन मावलीको क्रान्तिकारी वातावरण पनि कम जिम्मेवार छैन। मामा केशव बडालले पहिलो पटक मेरो आँखा खोलिदिने काम गर्नुभयो। उद्धव बडाल, पुष्प बडाल, नेत्रकुमारी पौडेल, माधव बडाल मेरा अग्रज हुनुहुन्छ। मेरो दुःखको बेलाको मित्र, काठमाडौँ बस्दाको सहारा शम्भु बडाल हुनुहुन्थ्यो। जता गए पनि, जहाँ गए पनि मामाहरू सबै 'कम्युनिष्ट उत्पादन कारखाना' जस्तो लाग्थ्यो। हामी सबै एकाग्र भएर काम गरिरहेका थियौँ।

जता गए पनि कार्ल मार्क्स, लेनिन र पुष्पलालका कुरा हुन्थे। क्रान्ति र परिवर्तनका कुरा मात्र हुन्थे। दशैँमा टीका लाउन जाँदा पनि 'असल कम्युनिष्ट भएस' भन्ने आशीर्वाद पाइन्थ्यो। यस्तो खाले वातावरणले म जस्ता युवालाई त्यही कम्युनिष्ट विचारले मोहित बनाइछाड्यो। बडाल परिवारमा अहिले पनि यस्तै खाले संस्कार पाइन्छ। मलाई पनि त्यही संस्कारले कम्युनिष्ट मैत्री बनाउन बाँकी राखेन।

यस्तो पृष्ठभूमिबाट आएको मलाई सबैको सहयोग भइरहेको थियो। यसै क्रममा मलाई २०४३ सालको स्थानीय चुनावमा जनपक्षीय प्रधानपञ्च पदमा चुनाव लड्ने अवसर मिल्यो। मलाई २०४८ सालको आम चुनावमा नेकपा एमालेको टिकट प्राप्त भयो। नेकपा एमालेको साह्रै कमजोर सङ्गठन भएको बाराको ३ नम्बर क्षेत्रमा चुनाव लड्न मलाई डर लागिरहेको थियो। चुनाव लड्नका लागि स्रोत-साधन र दाम सुको थिएन। थियो त केवल क्रान्तिकारी विचार, सिद्धान्त, कम्युनिष्ट संस्कार, जनताको आशा र १२ वर्षको साङ्गठनिक अनुभव। मलाई साथ दिने र माया गर्ने साथीहरूको असीम प्रेम र सद्भाव थियो।

चुनावमा लगाउनका लागि कम्युनिष्ट आन्दोलनप्रतिको विश्वास, मार्क्सवादप्रतिको आस्था र निष्ठा मात्र थियो। तैपनि थुप्रै युवाहरू, महिला कमरेडहरू, बुद्धिजीवी साथीहरू मलाई साथ दिन तयार हुनुहुन्थ्यो। मैले कहिल्यै नभेटेका र चिनजानसमेत नगरेका कारखाना र यातायात मजदुरहरू, सफाइ मजदुरहरू र गरिब किसानहरू साथ दिनका निम्ति तयार रहनुभएको थियो। म दङ्ग परिरहेको थिएँ। यो विचारको लगाव भन्ने कुरा अचम्मको हुँदो रहेछ। अझ वर्गीय प्रेम त कति कसिलो हुँदो रहेछ, त्यसको कुनै सीमा रहेनछ।

अझ काभ्रे जिल्लामा जन्मेको मान्छे, रौतहट हुँदै भर्खर बाराको निजगढ आएको मान्छे। कलैया त कहिलेकाहीँ कामले पुगेको मात्र हो। निजगढमा जनपक्षीय प्रधानपञ्च भएकोले जिल्ला परिषद्मा मेरो भूमिका देखेका र भाषण सुनेका केही युवाहरूले मलाई पछ्याइरहेका रहेछन्। पञ्च सम्मेलनका बेलामा मच्चिएको रडाको बीच हामीले उठाएको लोकतन्त्रको एजेन्डाले रमाएको नजरले हामीलाई हेरिरहेको रहेछ। जनपक्षीय अभियान र प्रजातान्त्रिक आन्दोलनमा खेलेको भूमिका र भएको भेटघाट हाम्रो सम्पत्तिको रूपमा जम्मा भएको रहेछ। त्यही सम्पत्तिले हाम्रो चुनाव प्रचार अभियानलाई सार्थक बनाउने सम्भावना देखियो।

आमा हाम्रो घरको अभिभावक हुनुहुन्थ्यो। टिकट पाएको कुराले आमा दुःखी त हुनुभएन, तर त्यत्रो चुनावमा टिकट पाएको छोरालाई अलिकति पनि खर्च दिन नसकेकोमा निकै भावुक चाहिँ देखिनुभयो। मैले आमालाई सम्झाएँ— "यो पार्टीको जिम्मेवारी हो, पार्टीले व्यवस्था गर्ने कुरा हो, आमाले चिन्ता गर्नु पर्दैन, हजुरको आशीर्वाद नै हाम्रो लागि शक्ति हुन्छ।" आमाले भावुक हुँदै रातो टीका लगाएर आशीर्वाद दिनुभयो। त्यही आशीर्वाद लिएर म निजगढबाट कलैयातिर लागेँ। कलैया र निर्वाचन क्षेत्रले पनि मलाई त्यही रूपमा स्वागत गर्यो। 'के लिएर आइस्' भनेर सोधेन। कलैयाले मसँग कुनै माग पनि राखेन, कुनै शर्तनामा पनि गरेन।

एउटा सिङ्गो शरीर लिएर आएको २७ वर्षे युवालाई आफ्नो प्रतिनिधिको रूपमा स्वीकार गर्यो। मलाई कहिल्यै गरिब भएको अनुभूति हुन दिएन कलैयाले। सबैभन्दा पहिले उम्मेदवार मनोनयन शुल्क मलाई थाहै नदिईकन कलैयाले बन्दोबस्त गरेको थियो। झण्डा, ब्यानरको राम्रो बन्दोबस्त गरिसकेको थियो। गाउँ-गाउँमा चुनाव प्रचार कमिटी र आर्थिक कमिटीहरू आ-आफ्नो जिम्मामा तैनात थिए।

डुमरवाना गाविस हाम्रो आधार इलाकाको रूपमा थियो। डुमरवाना हाम्रो पार्टीको कार्यकर्ताको जक्सन पनि थियो। डुमरवानाले हामीलाई सबै हिसाबले आधार दिएको थियो। आफ्नो एरियाको प्रचार खर्च व्यवस्था गरी हाम्रो क्षेत्रीय कमाण्डलाई पनि डुमरवानाले साथ र सहयोग गरेको थियो। भोटमा पनि एक नम्बर रहेको डुमरवाना गाविस आर्थिक र भौतिक रूपले समेत हामीलाई आश्वस्त गर्न सक्षम थियो।

चुनाव प्रचार अभियान आरामले चलिरहेको थियो। हाम्रा मुख्य सवारी साधन साइकल थिए। हामी धेरै कार्यक्रममा साइकल नै प्रयोग गर्दथ्यौँ। केही दिनअघि कृष्ण दाहाल कमरेडले एक जना मित्रसँग 'राजदूत' मोटरसाइकल मागेर ल्याउनुभयो। हामीलाई संसार पाए जस्तो भयो। हामीले त्यसलाई भरपुर प्रयोग गरिरहेका थियौँ। प्रचारमा संलग्न कार्यकर्ताहरूलाई भुजा-पकौडी खुवाउन पनि सकिरहेका थिएनौँ।

हामी आफैँ पनि भुजा-पकौडा पाउँदा निकै रमाएर लिन्थ्यौँ। हामीलाई कुनै अभावको फिल भएको थिएन। चुनावका लागि पाँच दिन बाँकी थियो, त्यो मागेको मोटरसाइकल पनि दुर्घटनामा परेर ध्वस्त भयो। बनाउन केही समय लाग्ने भयो। दुई दिनसम्म साधन नपाएर हामी बेवारिसे भयौँ। त्यतिखेर भने मलाई फिल भयो— त्यही बारामा हाम्रा पार्टीका अन्य उम्मेदवारहरू ४/५ वटा गाडी र ८/१० वटा मोटरसाइकल मज्जासँग कुदाइरहेका थिए, हामीसँग एउटा पनि थिएन। पार्टीका नेताहरूलाई हामीले पीडा पनि बतायौँ, तर केही काम लागेन। हामी साइकल प्रयोग गरेर अघि बढ्यौँ, अभियान जारी राख्यौँ। यसले हामीलाई कुनै नोक्सानी गरेन, अझ बलियो बनायो। हामी जिल्लाभरिमा सबैभन्दा बढी भोट बटुल्न सफल भयौँ।

मलाई निर्वाचन लड्नका लागि निजगढले सधैँ हौसला र तागत दिएको छ। त्यो बेला पनि निजगढका साथीहरूले मलाई निकै सहयोग गर्नुभयो। निजगढका साथीहरू दोहोरो चापमा परे पनि उहाँहरूले दिल खोलेर सहयोग गर्नुभयो। उक्त निर्वाचन अभियानमा मेरो सम्पूर्ण खर्चको महत्त्वपूर्ण हिस्सा निजगढका साथीहरूले व्यहोर्नुभएको थियो। कलैया र डुमरवाना मेरा आधार थिए। प्रचार अभियानमा खर्च त गाउँ-टोलमा पनि थुप्रै भएको थियो। यस निर्वाचनमा गाउँ, नगर र इलाका भित्रका साथीहरूले आफैँ उम्मेदवार भएको ठानेर निर्वाचन खर्च गर्नुभएको अनुभव मलाई छ।

कलैयासहित क्षेत्रभरि चुनाव प्रचारले गज्जबको माहोल ल्यायो। जो जहाँ थियो, उसले त्यहीँबाट प्रचार सामग्री जुटाउन र अभियान चलाउन थाल्यो। यसले मलाई तुलनात्मक रूपले अरूभन्दा गरिब उम्मेदवार भएकोमा कुनै हीनताबोध भएन। मलाई गर्वको अनुभूति भयो कि जब जनताले आफ्नो मित्र बनाउँछन्, घर-परिवार र सम्पत्ति पनि जनता नै हुँदा रहेछन्।

कलैया र त्यस क्षेत्रका विरोधीहरूको निम्ति म 'घर न थर'को मान्छे थिएँ। तर क्षेत्रभरिका (डुमरवानादेखि सनफुलवासम्मका) आम जनताले भने मलाई आफ्नो अगुवा सम्झेका थिए। आफ्नै परिवारको सदस्यको रूपमा लिए, अपार माया र प्रेमको भागी बनाए। यसैले होला, कमजोर भनिएको क्षेत्रमा समेत हामी झिनो मतले मात्र पराजित भयौँ। अहिले पनि जुन गाउँमा पुग्छु, त्यही गाउँमा माया र प्रेम पाइरहेको हुन्छु। यसै गरी सदैव माया र प्रेम पाइरहुँ।

जय जनता जनार्दन!