काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता एवं प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले केही दिनअघि संसदको रोस्टमबाट व्यक्त गरेका आफ्ना शब्दहरूका कारण पर्न गएको असरप्रति क्षमायाचना गरेका छन् ।
प्रतिनिधि सभाको हालैको बैठकमा बोल्दै उनले संसदीय मर्यादाको पालना र सभामुखको आदेशप्रति उच्च सम्मान व्यक्त गर्दै क्षमायाचना गरेका हुन् ।
संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख स्वर्गीय सुवास नेम्वाङलाई स्मरण गर्दै उनले सिकाएको संसदीय अभ्यास र मर्यादाको पाठले आजको प्रक्रियामा मार्गनिर्देश गरेको पनि बताए ।
‘सदनको रोस्टमबाट व्यक्त भएका मेरा केही शब्दहरू असंसदीय र अशिष्ट भएको भनी प्रश्न उठेपछि सम्माननीय सभामुखज्यूले ती शब्दहरू हटाउन दिनुभएको आदेशलाई म उच्च सम्मान गर्दछु,’ पराजुलीले भने, ‘मेरा शब्दका कारण आम जनतामा पर्न गएको असर र दु:खप्रति म गहिरो क्षमायाचना व्यक्त गर्दछु ।’
नेपालको संविधानको धारा १०४ को उपधारा (१) बमोजिम गठित १५ सदस्यीय मस्यौदा समितिले तयार पारेको यो नियमावलीमा सबै राजनीतिक दलहरूको समानुपातिक प्रतिनिधित्व र सहमति रहेको उनको भनाइ थियो ।




















