काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले प्रतिनिधि सभा बैठकमा बोल्ने विषयवस्तु तयार पार्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल 'च्याट जीपीटी'  को अत्यधिक प्रयोग गर्न थालेपछि पार्टीले त्यसमा रोक लगाएको छ । संसदमा बोल्ने सन्दर्भ सामग्री र मस्यौदा बनाउन एआईको निर्भरता बढ्दै गएपछि रास्वपा सचेतक क्रान्तिशिखा धितालले आइन्दा त्यसो नगर्न सांसदहरुलाई सचेत गराएकी हुन् ।

पार्टीका सांसदहरुको आन्तरिक ग्रुप तथा अनौपचारिक छलफलमा सचेतक धितालले संसद् जस्तो गरिमामय ठाउँमा आफ्नै अध्ययन र मौलिक विषयवस्तुका आधारमा प्रस्तुत हुन निर्देशन दिएकी छन् ।

रास्वपाका एक सांसदका अनुसार धितालले भनिन्, ‘विषयवस्तु नभएको अवस्थामा संसदमा नबोले पनि हुन्छ । तर, च्याट जीपीटीको भरमा बोल्न आवश्यक छैन । बोल्ने ठोस विषय र एजेण्डा नभए संसद्‌मा मौन बस्न सकिन्छ, तर प्रविधिको सहारामा हलुका टिप्पणी वा तयारी सम्बोधन गर्नु उचित हुँदैन ।’

प्रतिनिधि सभामा बलियो उपस्थितिसहित प्रतिनिधित्व गरिरहेका रास्वपाका सांसदहरुले पछिल्लो समय संसद्‌मा राख्ने भनाइ र भाषणहरू च्याट जीपीटीकै आधारमा तयार पार्ने गरेको भन्दै पार्टीभित्र र बाहिरसमेत प्रश्न उठ्न थालेको थियो । सूचना र प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको रास्वपाभित्रै जनप्रतिनिधिको आफ्नै मौलिक अध्ययन र वैचारिक स्पष्टता हराउँदै जाने जोखिम औंल्याउँदै यस्तो ह्वीप वा सचेत गराउने निर्णय भएको बुझिएको छ।

यस निर्देशनपछि अब रास्वपाका सांसदहरूले संसद्‌मा उठाउने जनसरोकारका मुद्दा र विधेयकमाथिको छलफलमा आफ्नै अध्ययन, अनुसन्धान र जनस्तरका एजेण्डालाई प्राथमिकता दिनुपर्ने बाध्यता बनेको छ।