काठमाडौँ—नेकपा (एमाले) का सांसद गुरु बरालले सरकारले सुकुम्बासीहरूलाई विना विकल्प र विना तयारी बसोबास गरिरहेको ठाउँबाट जबरजस्ती हटाएको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बरालले सरकारको यो कदमलाई त्रुटिपूर्ण र अमानवीय संज्ञा दिएका हुन्।
सरकारले विस्थापित सुकुम्बासी परिवारलाई ३ महिनाका लागि मासिक १५ हजार रुपैयाँ दिने घोषणा गरेको प्रति लक्षित गर्दै उनले भने, "पाँच जनाको परिवारमा प्रति सदस्य महिनाको ३ हजार अर्थात् दैनिक १०० रुपैयाँ पर्न आउँछ। काठमाडौँको महँगीमा दैनिक १०० रुपैयाँले एउटा व्यक्ति कसरी बाँच्न सक्छ? यो सुकुम्बासी माथि गरिएको अमानवीय हमला हो।"
सांसद बरालले विस्थापितहरूलाई राखिएको होल्डिङ सेन्टरहरूको अवस्था निकै दयनीय रहेको उल्लेख गरेका छन्। "होल्डिङ सेन्टरहरूमा महिला र पुरुषलाई छुट्टाछुट्टै राखिएको छ, जसले गर्दा परिवार एकै ठाउँमा बस्न पाएका छैनन्," उनले थपे, "त्यहाँ सुत्केरी महिलाहरू कुपोषणको सिकार भएका छन्, युवाहरूमा मानसिक स्वास्थ्यको समस्या देखिएको छ र बालबालिकाहरू विद्यालय जानबाट बञ्चित भएका छन्।"
सरकारले अस्थायी बसोबासका लागि एकमुष्ठ २५ हजार रुपैयाँ दिने भनेको विषयमा बोल्दै उनले सुकुम्बासीहरू पहिले नै अस्थायी रूपमा बसिरहेकाले सरकारले अस्थायी होइन, स्थायी आवासको प्रबन्ध मिलाउनुपर्ने माग गरेका छन्। विना तयारी र विना योजना नागरिकलाई सडकमा पुर्याउने काम तत्काल रोक्न उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।




















