काठमाडौं—रौतहटको चन्द्रपुर नगरपालिका–४ डाँडाटोलमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा चन्द्रपुर–४ चन्द्रनिगाहपुर निवासी ३० वर्षीय विष्णु सुवेदी रहेका छन्। प्रहरीले दिएको जानकारीअनुसार बारा जिल्लाको निजगढ नगरपालिका–६ भवाराटोल घर भई हाल चन्द्रपुरमा बसोबास गर्दै आएका ३८ वर्षीय विमल मोक्तानले सुवेदीमाथि कुटपिट गरेका थिए।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रुपा लाबुङका अनुसार मदिरा सेवन गरेका मोक्तानले बाटोमा हिँडिरहेका सुवेदीलाई कुटपिट गरी लडाएका थिए। गम्भीर घाइते भएका सुवेदीलाई उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न मोक्तानलाई प्रहरीले पक्राउ गरिसकेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।