काठमाडौँ—नुवाकोटमा बिहीबार साँझ एक विद्युतीय कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। छहरे–टोखा सडकखण्ड अन्तर्गत शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्याङमा बिएई ०५६९ नम्बरको कार दुर्घटनामा परेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार गुडिरहेको कार अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको थियो। दुर्घटनामा सिराहा सुखीपुरी–२ का ३५ वर्षीय सञ्जीवकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना लगतै गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि काठमाडौँस्थित ग्राण्डी अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। मृतकको साथमा रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) का आधारमा पहिचान खुलेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका अन्य दुई जनाको भने काठमाडौँको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरूमा सुनसरीको इनरुवा नगरपालिका–५ का ४० वर्षीय उत्सव पोखरेल र काठमाडौँ महानगरपालिका–९ गौरीघाटका ४४ वर्षीय लोकेश मिश्र रहेका छन्।

दुर्घटना जङ्गल क्षेत्रमा र अँध्यारो समयमा भए पनि प्रहरीले स्थानीयवासीको सहयोगमा तत्कालै उद्धार गरी घाइतेहरूलाई उपचारका लागि काठमाडौँ पठाएको जानकारी दिएका छन्।